के सृष्टिकर्ताले हाम्रो कुरा सुन्‍नुहुन्छ ?

यदि हामी सृष्टिकर्ताद्वारा बनाइएका हौं भने, के उहाँले हाम्रो कुरालाई ध्यान दिनु हुन्छ? उहाँसित हामीले जोडले बोल्दा वा मनमनै बोल्दाखेरि के उहाँले सुन्‍नुहुन्छ ?

यस वेबसाइटको  “सत्यको खोज” मा तपाईंले सृष्टिकर्ता हुनुहुन्छ भन्‍ने कुरा जान्‍न सक्‍नुहुन्छ । तपाईंले त्यहाँ उहाँका विशेषताहरु बारे पनि अझ धेरै पढ्न पाउन सक्‍नुहुन्छ । उहाँको एउटा विशेषता भनेको प्रेम हो । उहाँले हामीलाई अरुहरुलाई प्रेम गर्ने क्षमता दिनुभएको छ, तर उहाँले पनि हामीलाई प्रेम गर्नुहुन्छ । उहाँले तपाईं र मलाई जब प्रेम गर्नुहुन्छ,  उहाँले हाम्रो विषयमा पनि वास्ता गर्नुहुन्छ भन्‍ने कुरा स्वाभाविक हो ।

हामी हाम्रा सृष्टिकर्तालाई देख्‍न सक्तैनौं । आखिर, उहाँ आत्मिक व्यक्तित्व हुनुहुन्छ । यधपि, उहाँ सबैतिर उपस्थित हुनुहुन्छ । हामी के गर्दछौं,  के बोल्दछौं र के सोचिरहेका छौं सो उहाँ जान्‍नुहुन्छ ।

हामी आफ्नो सृष्टिकर्तासित कसरी सम्पर्क गर्न सक्छौं ?

प्रार्थना भनेको तपाईंको आफ्नो सृष्टिकर्तासित कुराकानी गर्नु हो । यो कुराकानी मुख्यगरी तपाईंको आत्मासित हुने सम्वाद हो ।

तपाईं को सित कुराकानी गर्दै हुनुहुन्छ भन्‍ने कुरा थाहा पाउनको निम्ति, तपाईंले उहाँ को हुनुहुँदो रहेछ भन्‍ने कुरा  थाहा पाउनु पर्नेछ । त्यसैले, तपाईंले उहाँको बारेमा सत्यको खोज गर्नु पर्ने हुन्छ । आखिर, सृष्टिकर्ताको बारेमा हामी सत्य प्रतिनिधित्व गर्दछौं भनी दावी गर्ने धर्महरु थुप्रै छन् ।  तसर्थ, सृष्टिकर्ता वास्तवमा को हुनुहुन्छ त भनी पत्ता लगाउनको निम्ति सृष्टिकर्ता आफैबाट सुरु गर्दा श्रेयष्कर हुन्छ।

तपाईंले आफ्नो सृष्टिकर्ताको बारेमा साँचो रुपमा जान्‍ने इच्छा गर्नुहुन्छ भने, तपाईं निराश हुनुपर्ने छैन । तपाईंले उहाँलाई उहाँको आफ्नो वास्विकता देखाइदिन समेत अनुरोध गर्न सक्‍नुहुन्छ ।

के उहाँले सुन्‍नुहुन्छ ?

सृष्टिकर्ताले हामी सबैलाई अद्वितीय रुपमा बनाउनुभएको छ । तपाईंले लाख कोसिस गरे पनि आफूजस्तै दुरुस्तै मानिस कहिल्यै भेट्नुहुनेछैन । हामी सबैका औंठाछापहरु, हातका छापहरु, पैतालाका चिन्हहरु, हाम्रा आँखाका रेटिनाहरु र हाम्रो डि.एन.ए. अर्को कोही मानिससित मिल्दैन । हरेक मानिस अद्वितीय भएको हुनाले, हामी सबै जना हाम्रो सृष्टिकर्ताका निम्ति अमूल्य र महत्त्वपूर्ण रहेछौं भन्‍ने कुरा  यस  तथ्यले मलाई बोध गराएको छ । 

मेरो आफ्नो अनुभवबाट, उहाँले हाम्रो कुरा सुन्‍नुहुन्छ भन्‍ने मलाई थाहा छ । उहाँले मलाई ध्यान दिनुहुन्छ भनेर मैले जीवनमा धेरै पटक अनुभव गरेको छु । जब तपाईंले आफ्नो सृष्टिकर्तालाई भरोसा गर्न सिक्‍नुहुन्छ, उहाँले तपाईंको जवाफ दिनुहुनेछ । यसको अर्थ यो होइन कि तपाईंका सारा समस्याहरु हटिहाल्नेछन् । आखिर, अरु मानिसहरुको व्यवहारले पनि तपाईंको जीवनलाई प्रभाव पार्दछ । र, कतिपय परिस्थितिहरु पनि सिक्‍न र त्यसबाट निर्माण हुनको निम्ति अनिवार्य हुन्छन् ।

के तपाईंले जवाफ पाउनु हुनेछ ?

हरेक प्रश्‍नको जवाफ तुरुन्तै मिल्दैन । कहिलेकाहीं कुनै-कुनै कुरा सपनामा वा दर्शनमा स्पष्ट हुन सक्छ । प्रायः तपाईं कठिन परिस्थितिमा हुँदाखेरि शान्ति अनुभव गर्नुहुन्छ । कहिलेकाहीं तपाईंले परिस्थिति तुरुन्तै बद्लिएको पाउनुहुन्छ, तर अन्य अवस्थाहरुमा भने परिस्थिति परिवर्तन हुन समय लाग्‍न सक्छ । मेरो अनुभवबाट, विगत नियाल्दाखेरि मात्रै तपाईंको प्रश्‍नको जवाफ पाउन सकिन्छ । तपाईंले भोगिसकेको परिस्थितिमा हेर्नुभयो भने त्यहाँ प्रश्‍नको जवाफ पाउनुहुन्छ ।

मलाई लाग्छ, तपाईंले उहाँ को  हुनुहुन्छ भनेर चिन्‍नुभएको अवस्थामा मात्रै तपाईं हाम्रो सृष्टिकर्तासित  साँचो रुपमा कुराकानी गर्न सक्‍नुहुन्छ । र, जब उहाँलाई विश्वास गरी उहाँमाथि भरोसा राख्‍नुहुन्छ, तब उहाँसित तपाईं साँचो रुपमा कुराकानी गर्न सक्‍नुहुन्छ । यदि हामी आफ्ना दैनिक समस्याहरु समाधान गरिदिन मात्रै उहाँसित कुराकानी गर्न चाहन्छौं भने, सायद तपाईंले जवाफ पाउनु हुनेछैन । तपाईंले साँचो रुपमा उहाँलाई चिन्‍न चाहनुहुन्छ भने, उहाँले मेरो वास्ता गर्नुहुँदो रहेछ भन्‍ने कुरा पनि तपाईंले अनुभव गर्न पाउनुहुनेछ।  तपाईंले आफ्ना प्रश्‍नहरुको जवाफ नपाउनुका कारणहरुका पनि बाधाहरु हुन सक्छन् । यदि तपाईं यो वेबसाइट पढ्दै जानुभयो भने, हाम्रा सृष्टिकर्तसित साँचो रुपमा सम्पर्क गर्न के आवश्यक रहेछ भनी तपाईंले सिक्‍नुहुनेछ भन्‍ने मैले आशा लिएको छु ।

के हामीले विशेष भाषा वा तरिकामा प्रार्थना गर्नुपर्छ त ?

आफ्नो सृष्टिकर्तासित कुराकानी गर्नको निम्ति विशेष तरिका छैन । नता तपाईंले यति बेला प्रार्थना गर्नुपर्छ भन्‍ने नै छ । तपाईंले निश्चित भाषा वा शब्दहरु प्रयोग गर्नु आवश्यक छैन । खासमा, तपाईंले आफ्नो सारा हृदयले उहाँको खोजी गर्नु र उहाँसित इमान्दारीसाथ बोल्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो । तपाईंले चर्को सोरले वा मनमनै प्रार्थना गर्न सक्‍नुहुन्छ । उहाँ आत्मा हुनुहुन्छ र त्यसैले उहाँ जुनसुकै रुपका प्रार्थनाहरु पनि बुझ्‍न सक्‍नुहुन्छ ।

यी दिनहरुमा हाम्रा वरिपरि ध्यान खिच्‍ने थोकहरु धेरै छन् । आफ्नो कुराकानीमा सृष्टिकर्तालाई पूर्ण ध्यान दिनको निम्ति, शान्त ठाउँ खोज्‍नु उत्तम हुन्छ । तपाईंको मोबाइल बन्द गर्नुहोस्  । यदि तपाईंले आफ्नो आँखाहरु बन्द गर्नुहुन्छ भने,  तपाईं कुराकानीमा  अझै बढी केन्द्रित हुन सक्‍नुहुन्छ । दैनिक भागदौडदेखि  शान्त हुन समय लिनुहोस् ।

हामी केको निम्ति प्रार्थना गर्न सक्छौं

हाम्रो जीवन साँच्चै हामीसित भएका चीजबीजहरु, हाम्रो स्वास्थ्य, हाम्रो सम्बन्धहरु बारेमा होइन रहेछ भन्‍ने कुरा मैले बारबार थाहा पाइरहेको छु । हामी आफ्नै निम्ति वा हाम्रा प्रिय जनहरुका निम्ति स्वास्थ्य र समृद्दि चाहन्छौं । तर अन्तमा, तीमध्ये कुनै पनि हाम्रो पकडमा हुन सक्तैन । चीजहरु मासिएर जान्छन्, तपाईंको धनलाई चिहानमा लिएर जान सकिन्‍न ।  स्वास्थ्य बहुमूल्य  सम्पत्ति हो, तर स्वास्थ मानिस पनि एक दिन मरेर जानेछ । सृष्टिकर्ताको दृष्टिकोण अत्यन्तै फरक छ । उहाँलाई विश्वास गर्न र आदर गर्न इच्छुकहरुलाई आफ्नो प्रेम बाँड्न  चाहनुहुन्छ । त्यसो सम्बन्ध हाम्रो मृत्युपश्चात पनि निरन्तर  कायम रहन्छ । 

त्यसो भए, के परमेश्वरले  हरेक पटक हामीले उही शब्दहरु दोहोर्‍याई प्रार्थना गरेको चाहनुहुन्छ त ? यदि तपाईं विवाहित हुनुहुन्छ भने, के तपाईं आफ्नो श्रीमतीलाई हरेक दिन उही कहानी सुनाउनु हुन्छ र ? सुनाउनु हुन्‍न ! परमेश्वरसित पनि यही कुरा लागू हुन्छ । उहाँले हाम्रो मनमा जे आउँछ त्यही कुरा हामीबाट सुन्‍न चाहनुहुन्छ । हामी जुन कुराका निम्ति धन्यवादी छौं र हामी जुन कुराको चिन्तित छौं त्यो हामीले बताएको परमेश्वर चाहनुहुन्छ । यदि हामी उहाँमा भरोसा गर्न चाहन्छौं भने, उहाँले हामीलाई वास्ता गर्नुहुन्छ भन्‍ने कुरा पनि हामीलाई प्रकट गर्न चाहनुहुन्छ ।

असल सम्बन्धको हकमा, एकतर्फी  मात्रै हुँदैन ।  असल सम्बन्धमा, एकअर्कालाई वास्ता गर्ने र एकअर्कालाई दिने कुरा हुन्छ । हाम्रा सृष्टिकर्ताले तपाईंको सम्बन्ध चाहनुहुन्छ । जब तपाईं उहाँसित कुराकानी गर्नुहुन्छ, तपाईंले विशेष गरी आत्मिक भलाइ खोज्‍न सक्‍नुहुनेछ  । तपाईंका शारीरिक वा भौतिक चिन्ताहरु उहाँ जान्‍नुहुन्छ । तपाईंले ती चिन्ताहरु व्यक्त गर्न सक्‍नुहुन्छ र उहाँले पानि तपाईंलाई ती कुरामा सहायता गर्न चाहनुहुन्छ ।

के म उहाँको चासो लायक छु त ?

अहँ, वास्तवमै तपाईं लायक हुनुहुन्‍न ! सबै मानिसहरुले अनेकन भूलहरु गर्दछन्  । हामी ढाँट्छौं, ठग्छौं, चोर्छौं, अरुलाई होच्याउँछौं, आदि-आदि गर्दछौं  । हामीलाई त थाहा छ, यी कुनै पनि कुराहरु सही होइनन् । हामी सजिलै हाम्रो सृष्टिकर्तालाई पनि भुलिपठाउँछौं। हामी आफ्नै सफलता र  चासोहरुमा अत्यधिक व्यस्त हुन्छौं ।

के सृष्टिकर्ताले तपाईंलाई ध्यान दिइरहनुभएको होला त ?  उहाँले दयालु, अनि अरुलाई सहायता गर्ने, र धार्मिक जीवन जिइरहेका मानिसहरुलाई ध्यान दिनु हुन्छ भन्‍ने तपाईंलाई लागेको होला । तर तपाईंले त्यस्तो सोच्‍नु भनेको गल्ती हुनेछ । सृष्टिकर्ता हामीजस्तो हुनुहुन्‍न । तपाईंका सारा विद्रोह र चासोको कमि हाम्रो सृष्टिकर्तासित कुराकानी गर्नको निम्ति बाधा बन्‍नु हुँदैन  । यदि तपाईं यो वेबसाइट निरन्तर पढ्दै जानुहुन्छ भने, म तपाईंलाई यस बारे अझ धेरै कुरा बताउनेछु ।

.