बाइबल कसले लेखेको हो ?

बाइबल ४० विभिन्‍न लेखकहरुद्वारा लेखिएको थियो । उनीहरु राजाहरु, किसानहरु, दार्शनिकहरु, माझीहरु, कविहरु, सङ्गीतकारहरु, चिकित्सकहरु, शिक्षकहरु, राजनेताहरु, वकिलहरु र गोठालाहरु थिए । बाइबल लेख्‍न १,००० भन्दा बढी समय लागेका थिए । यति लामो अवधि लागे तापनि बाइबलको विषय-वस्तु एकसमान रहेको पाइन्छ ।  बाइबलको दोस्रो र अन्तिम भागचाहिँ लगभग २,००० वर्षअघि लेखिएको थियो । यधपि, बाइबलको सन्देश सान्दर्भिक र विश्वसनीय छ ।

कोही व्यक्तिहरु ठान्छन्-अब विश्वसनीय छैन। आखिर, बाइबल धेरै पहिले लेखिएको थियो, र मौलिक पाण्डुलिपिहरु अहिले अस्तित्वमा छैनन्  । यस पृष्ठको तलको  लेख पढेर बाइबल किन अझै पनि विश्वसनीय छ भनी पत्ता लगाउन सक्‍नुहुन्छ ।

परमेश्वरको वचन

परमेश्वरले बाइबलभरि मानिसहरुप्रति आफ्नो प्रेम प्रकट गर्न चाहनुहुन्छ । उहाँले आफ्नो योजना शताब्दियौंदेखि कार्यान्वयन गरिरहनुभएको छ । त्यसैले, बाइबल केवल अर्को पुस्तक होइन । बाइबलले हाम्रो निम्ति परमेश्वरको सन्देश समावेश गरेको छ । यसकारण, बाइबललाई परमेश्वरको वचनको रुपमा चिनिन्छ ।

पुरानो र नयाँ नियम

बाइबलमा मुख्य भागहरु समावेश छन् । पहिलो भागलाई पुरानो नियम वा तनाख पनि भनिन्छ । यो भागले ३,००० वर्षभन्दा बढीको समयावधिलाई समेट्छ । दोस्रो भागलाई चाहिँ नयाँ नियम भनिन्छ । यस भागले १०० वर्षभन्दा कम समयावधिको उल्लेख गर्दछ ।

“नियम” शब्दको अर्थ “करार”, सम्झौता भन्‍ने हुन्छ । यो “करार”चाहिँ  परमेश्वर र मानिसहरु बीचको सम्बन्ध अनि हामीप्रतिको परमेश्वरका प्रतिज्ञाहरु बारेमा हो ।

पुरानो नियम

पुरानो नियमले ब्रह्माण्ड,पृथ्वी र मानिसहरुको सृष्टि बारे वर्णन गर्दछ । सृष्टिको कथामा, मानिसहरु आफ्नो छनोट गर्न सक्‍ने क्षमतासहित सृष्टि गरिएका थिए भन्‍ने कुरा स्पष्ट हुन्छ । मानिसहरुले आफ्नो सृष्टिकर्तालाई जुन कुराअसल लाग्छ वा उनीहरु आफैलाई जे महत्त्वपूर्ण लाग्‍छ सोही अनुसार गर्ने  निर्णय गर्न सक्छन् । मानिसहरु आफूलाई जे मन पर्दछ, प्रायः त्यही गर्न उनीहरुले रुचाएको कुरा पुरानो नियम धर्मशास्त्रबाट पढ्दाखेरि थाहा पाउन सक्‍नुहुन्छ ।   

परमेश्वरले हामी सबैलाई उहाँ र एकअर्कालाई प्रेम गर्न सृष्टि गर्नुभएको कुरा पुरानो नियममा पनि पाउन सक्‍नुहुन्छ । तथापि, धेरै मानिसहरु परमेश्वरलाई र एकअर्कालाई प्रेम गर्नदेखि चुक्दछन् । हाम्रा सृष्टिकर्ता पनि धार्मिक हुनुहुन्छ र उहाँले मानिसहरुको विद्रोही व्यवहारलाई दण्डहीन छोड्न सक्‍नुहुन्‍न । यदि उहाँले त्यसो गर्नुभएको भए, उहाँले आफ्नोविश्वासयोग्यता र आदर गुमाउनु हुन्थ्यो । यस वेबसाइटको मुख्य कथामा  यस बारे थप जानकारी पढ्न सकिन्छ । हाम्रो आत्म-केन्द्रित व्यवहारले हामीलाई परमेश्वरविहीन जीवनमा पुर्‍याउँछ । त्यसकारण, हामीले हाम्रो जीवनको शेषपछि हाम्रा अनादरपूर्ण र पापपूर्ण व्यवहारका परिणामहरु भोग्‍नुपर्दछ ।

तर हामी  हाम्रा अनादरपूर्ण कार्यहरु बारे मनैदेखि पश्चताप गर्दछौं भने परमेश्वर हामीलाई प्रेम गर्न र क्षमा दिन चाहनुहुन्छ । यधपि, उहाँले धर्मी नभई हाम्रा पापहरु क्षमा गर्न सक्‍नुहुन्‍न । यसकारण,  यदि परमेश्वरले हामीलाई क्षमा दिन चाहनुहुन्छ भने, यो दुविधा समाधान गरिएको हुनुपर्दछ । पुरानो नियमले मुक्तिदाताको आगमन बारे धेरै पटक उल्‍लेख गरेको छ । मुक्तिदाता त्यो व्यक्ति हुनुहुन्छ जसले परमेश्वरसित हाम्रो शान्ति पुनर्स्थापित गराउनु हुन्छ ।

नयाँ नियम

नयाँ नियम बाइबलको दोस्रो भाग हो । यो भागचाहिँ प्रतिज्ञा गरिएको मुक्तिदाताको बारेमा केन्द्रित छ । उहाँको नाम येशू ख्रीष्ट ह  । नयाँ नियम परमेश्वरमा  विश्वास गर्नेहरुका निम्ति परमेश्वरको मुक्तिको योजना  पूरा गर्ने विषयमा केन्द्रित छ ।  यस वेबसाइटको मुख्य कथामा तपाईंले तपाईं र मेरो निम्ति उद्वारको योजना बारे थप पढ्न सक्‍नुहुन्छ ।

संसारको निम्ति परमेश्वरको योजना र  परमेश्वरले हामीबाट के अपेक्षा राख्‍नुहुन्छ भन्‍ने बारे येशू ख्रीष्टले  अझ स्पष्ट पार्नुभयो । तथापि, नयाँ नियमले पुरानो करारलाई “बासी समाचारमा” रुपान्तरण गर्दैन । बाइबल एकता हो ।  पुरानो नियमको सम्पूर्ण सन्देश नयाँ नियममा साकार भएको छ ।

बाइबल ६६ पुस्तकहरुको सङ्गालो हो

विभिन्‍न ४० जना लेखकहरुद्वारा कूल ६६ पुस्तकहरु लेखिएका थिए । ती सबै पुस्तकहरु मिलेर बाइबल बनेको छ ।  ती सबै लेखहरु परमेश्वरको आत्माद्वारा प्रेरित छन् । ती स्वर्गदूतद्वारा लेखाइएका थिएनन् । विचार र अनुभवहरु परमेश्वरको आत्माद्वारा प्रेरित गरिएका थिए, जसले गर्दा लेखकहरु परमेश्वरको सन्देश लेख्‍न सक्षम भए । बाइबलमा मानिसहरुका धेरे कथाहरु र उनीहरुका परमेश्वरसितका अनुभवहरु पनि समावेश छन् । बाइबलका थुप्रै व्यक्तिहरुका चुनौतीहरु, कठिनाइहरु, भूलहरु, सफलताहरुबाट हामी ग्रन्थ सिक्‍न सक्छौं ।

तर सल्‍लाहकार, अर्थात्‌ पवित्र आत्‍मा, जसलाई पिताले मेरो नाउँमा पठाउनुहुनेछ, उहाँले तिमीहरूलाई सबै कुरा सिकाउनुहुनेछ, र मैले तिमीहरूलाई भनेका सबै कुरा तिमीहरूलाई याद दिलाउनुहुनेछ। यूहन्‍ना 14:26

६६ वटा पुस्तकहरु सङ्कलन गरेर त्यसलाई एउटै पुस्तक बनाउने कोही एक व्यक्ति थिएन। र , कुनचाहिँ पुस्तक बाइबलमा समेट्ने भनी निर्णय  गर्ने नता कुनै एउटा बैठक बस्यो । शताब्दीयौंभरि, लेखहरु सङ्कलित भए अनि आज हामीले बाइबल भनेर चिनेको पुस्तकको रुपमा तीनलाई एक मुस्ट पारिए ।  येशू ख्रीष्टपछिका प्रथम शताब्दिहरुमा, विश्वसनीय नठहरिएका र परमेश्वरको आत्माद्वारा प्रेरित नभएका  थुप्रै लेखहरु पनि लेखिएका थिए ।

कुन भाषामा बाइबल पढ्न सकिन्छ ?

आजभोलि, बाइबला २,५०० भन्दा बढी भाषाहरुमा पढ्न सकिन्छ। यो अन्य कुनै पुस्तकभन्दा बिलकुलै फरक पुस्तक हो । सुरुमा पुरानो नियम हिब्रू र अरामिक भाषामा लेखिएको थियो ।  नयाँ नियमचाहिँ ग्रीकमा लेखिएको थियो ।

केही भाषाहरुमा, दर्जनौं फरक अनुवादहरु उपलब्ध छन्  ।  केही अनुवादहरु सरल भाषामा भएका हुनाले ती पढ्नको निम्ति सजिला छन् ।  अन्य अनुवादहरुचाहिँ सम्भव भएसम्म मूल सन्देशलाई प्रतिविम्बित हुने किसिमले अनुवाद गरिएका छन। विभिन्‍न अनुवादहरुको ठूलो फाइदा भनेको नै  तपाईंले विभिन्‍न तरिकाले अध्ययन गर्नु पाउनु हो । यदि तपाईं कुनै पाठांशको अर्थ बारे अनिश्चित हुनुभएमा, तपाईं सधैं हिब्रू वा ग्रीकको मूल ग्रन्थमा गएर हेर्न सक्‍नुहुन्छ । 

के बाइबल सबैभन्दा महत्त्वपूर्ण नियम र व्यवस्थाको पुस्तक हो ?

बाइबल नता कुनै पाठ्यपुस्तक हो, नता व्यवस्थाको पुस्तक हो । बाइबल त जीवनको पुस्तकको रुपमा लेखिएको पुस्तक हो । बाइबलभरिको मूल सन्देश भनेकै परमेश्वरको आफ्नो सृष्टिप्रतिको प्रेम हो । बाइबलले परमेश्वरमा हाम्रो विश्वासलाई पनि सम्बोधन गर्दछ । यधपि,  हामी ज्यादै कठोर र ढिट छौं । त्यसैले, बाइबलमा जीवनका मार्गनिर्देशनहरु पनि छन् । यदि तपाईंले ती होशियारीपूर्वक अध्ययन गर्नुभएमा, तपाईंले ती मार्गनिर्देशनहरु हाम्रै भलाइका निम्ति रहेछन् भन्‍ने कुरा थाहा पाउनुहुनेछ । ती मार्गनिर्देशनले हामीप्रतिको परमेश्वरको प्रेम झल्काउँदछन् । तर तिनले हामीलाई हाम्रा सृष्टिकर्तालाई आदर गर्ने कुरा पनि स्मरण गराउँदछन् ।

“तैंले व्‍यभिचार नगर्, तैंले हत्‍या नगर्, तैंले चोरी नगर्, तैंले लोभ नगर्,” यी आज्ञाहरूबाहेक, र अरू जति आज्ञा छन्, ती सबैको सारांश यसै आज्ञामा पाइन्‍छ, अर्थात्‌ “तैंले आफ्‍नो छिमेकीलाई आफूलाई जस्‍तै प्रेम गर्‌।” रोमी 13:9

के येशूले पनि पुस्तक लेख्‍नुभयो?

येशूले बाइबलको कुनै पनि पुस्तक लेख्‍नुभएन । येशूका चार जना चेलाहरुले आ-आफ्ना सुमाचार पुस्तकहरुमा उहाँका शिक्षाहरु, दृष्टान्तहरु, चङ्गाइहरु र आश्चर्यकर्महरु बारे लेखे । येशूको इन्जिलले  प्राय नयाँ नियम वा ४ सुसमाचारहरुलाई सङ्केत गर्दछ । ती सुसमाचारहरुमा, हामी उहाँको जन्‍म, उहाँको जीवन, उहाँको क्रूसीकरण र मृतकदेखिको पुनरुत्थान पढ्न पाउँदछौं ।

पुरानो नियममा आउनेवाला मसिहाको बारेमा धेरै अगमवाणीहरू गरिएका थिए । ती अगमवाणीहरु येशूको जीवन, मृत्यु र पुनरुत्थानद्वारा पूरा हुन आए  ।

के पावलको सन्देश फरक हो ?

पावल नयाँ नियममा पाइने थुप्रै पुस्तकहरुका लेखक हुन् । कोही-कोहीले पावलको सन्देश अरु लेखकहरुको भन्दा फरक हो भनी दावी गर्दछन् । यधपि,  यदि तपाईंले सुसमाचार पढ्नुभयो र तिनलाई पावलका पत्रहरुसाथ राख्‍नुभयो भने, तपाईंले ती बीच एकदमै एकरुपता पाउनुहुनेछ । सुरुमा, पावल येशूका चेलाहरुका डरलाग्दो विरोधी थिए ।  परमेश्वरले पावललाई विशेष प्रकारले भेट्नुभएपछि, परमेश्वरले उनको बाँकी जीवनलाई  येशू ख्रीष्टको सुसन्देश सुनाउन  धेरै देशहरुमा प्रयोग गर्नुभयो ।  पावलले येशू ख्रीष्टको मृत्यु र पुनरुत्थानको महत्त्व बारे मानिसहरुलाई बताए ।  येशूले चेलाहरुलाई जे गर्न निर्देशन दिनुभएको थियो सो पावलले व्यवहारमा उतारेः

यसकारण जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्‍माको नाउँमा तिनीहरूलाई बप्‍तिस्‍मा देओ मत्ती 28:19

पावल यस उद्देश्यको निम्ति कष्ट भोग्‍न र मारिन समेत तयार थिए । कतिपय व्यक्तिहरुले दावी गरेजस्तै, पावल ख्रीष्टको सन्देश तोडमोड गर्ने व्यक्ति थिएनन् । यसो पनि भन्‍ने गरिन्छ, कि पावलले त्रिएकको शिक्षा  कल्पना गरेर बनाए र येशूलाई ईश्वरसरह तुल्याए  ।  “त्रिएक” शब्द बाइबलमा वा पावलका पत्रहरुमा समेत पाइँदैन । यो “त्रिएक” शब्द येशूका चेलाहरु बीच पछि मात्रै लोकप्रिय बन्‍न पुग्यो । यस शब्दले परमेश्वरले आफूलाई पिता, पुत्र र पवित्र आत्माको रुपमा प्रकट गर्नुभएको कुरा व्यक्त गर्दछ । येशू ईश्वरीय हुनुहुन्छ भन्‍ने कुरा सुसमाचारमा उहाँका भनाइहरुद्वारा अघि पुष्टि भइसकेका छन् ।

निष्कर्षमा

तपाईं र मजस्तै जीवनमा चुनौतीहरु र कठिनाइहरु भोगेका मानिसहरुका वर्णनले बाइबल भरिएको छ । परमेश्वरमा भरोरा गरेका मानिसहरुका कथा पढ्नु प्रेरणादायी हुन्छ । त्यस्ता मानिसहरुलाई परमेश्वरले कसरी सहायता गर्नुहुँदो रहेछ र आशिष दिनुहुँदो रहेछ भन्‍ने बारेमा पढ्न सक्‍नुहुन्छ । तपाईंको निम्ति परमेश्वरको वचनको अर्थ के हुन सक्छ सो आफै पत्ता लगाउनुहोला भनी म तपाईंलाई उत्साह दिन चाहन्छु ।

.

बाइबल कसले लेखेको हो ?