के येशू अगमवक्ताभन्दा ठूलो हुनुहुन्थ्यो ?
येशू ख्रीष्ट असल व्यक्ति हुनुहुन्छ भनी विश्वास गर्ने मानिसहरु धेरै छन् । अरुहरुले चाहिँ येशूलाई अगमवक्ता ठान्छन् । के येशू अगमवक्ता हुनुहुन्थ्यो त ? वा उहाँ अगमवक्ताभन्दा बढी हुनुहुन्थ्यो भन्ने सङ्केतहरु छन् ?
खासमा अगमवक्ता भनेको के हो ?
अगमवक्ता भनेको परमेश्वरको पक्षमा मानिसहरुसित बोल्ने मानिस हो । अगमवक्ताले मानिसहरुलाई परमेश्वर के चाहनुहुन्छ भन्ने कुरा बताउँछ र उहाँको इच्छा पालन गर्न आह्वान गर्दछ । प्रायः अगमवक्ताले मानिसहरुलाई उनीहरुका खराब कार्यका परिणामहरु बारे चेताउनी दिन्छ । अगमवक्ताले भविष्यमा हुने घटनाहरु पनि घोषणा गर्नेछ ।
अगमवक्ताहरुको सन्देशमा सधैं आशाको सन्देश हुन्छ। सन्देशमा प्रायः पापपूर्ण व्यवहारलाई रोक्न र परमेश्वरले चाहनुभएअनुसार जीवन बिताउनको लागि आह्वान गरिएको हुन्छ । अगमवक्ताको सन्देशलाई प्रायः उत्साहपूर्वक ग्रहण गरिएन । सामान्य रुपमा भन्नुपर्दा, “अगमवक्ता हुनु” भनेको सबैभन्दा जोखिमपूर्ण जिम्मेवारीहरुको सूचीमा पर्नु भन्ने हुन्थ्यो ।
साँचो अगमवक्तालाई कसरी चिन्नुहुन्छ ?
परमेश्वरका वचनहरु बोलिरहेको दावी गर्ने पनि सबै अगमवक्ता होइन । परमेश्वरसित साँचो अगमवक्तालाई चिन्न सकिने विभिन्न तरिकाहरु छन् । अगमवक्ताले प्रायः निकट भविष्यमा सत्य ठहरिने भविष्यवाणीहरु प्राप्त गर्दछ । उदाहरणार्थ, अगमवक्ता मोशाले मिश्रमा विपत्तिहरु आउनेछन् भनी भविष्यवाणी गरे । केही समय नबित्दै, १० वटा डरलाग्दो विपत्तिहरु मिश्रमा आइपरे । यसका साथै, अगमवक्ताहरुले अगमवक्ताहरु बितेर गएको (लामो) समयसम्म पनि पूरा नहुने घटनाहरु बारेका अगमवाणीहरु प्राप्त गर्दछन् ।
अगमवक्ताहरु सामान्यतः गोठालाहरु, किसानहरु, पूजाहारीहरु, वा लेखकहरुजस्ता सामान्य मानिसहरु थिए । ती सबै अगमवाणीको निम्ति परमेश्वरद्वारा नियुक्त भएका थिए । उनीहरु परमेश्वरमा विशेष भरोसा राख्ने पुरुष र स्त्रीहरु थिए । उनीहरु परमेश्वरसित विशेष सम्बन्ध भएका धार्मिक मानिसहरु थिए ।
अगमवाणीहरु
बाइबलमा, हामी धेरै जना अगमवाणीहरु बारे जानकारी पाउन सक्छौं । अधिकांश अगमवाणीहरुले मुक्तिदाता (“मसिहा”) को आगमना बारे घोषणा गर्दछन् । मुक्तिदाता भनेको पापका विनाशकारी परिणामहरुदेखि मानव जातिलाई बचाउने व्यक्ति हो ।
लूकाको सुसमाचारमा, उही मुक्तिदाता जन्मनुभयो भनेर पढ्न पाइन्छ । उहाँको नाउँ येशू हो । यशैयाले अगमवाणी गरेजस्तै, पवित्र आत्माद्वारा गर्भवति भएकी कन्या मरियमद्वारा येशू जन्मनुभयो (लूका १ हेर्नुहोस्) :
यसैकारण परमप्रभु आफैले तिमीहरूलाई एउटा चिन्ह दिनुहुनेछ। हेर, कन्याले गर्भधारण गर्नेछिन्, र तिनले एउटा पुत्र जन्माउनेछिन्, र उहाँको नाउँ इम्मानुएल राखिनेछ। यशैया ७:१४
उहाँको जन्मले र उहाँको जीवन अवधिले, अगमवक्ताहरुका सयौं अगमवाणीहरु सत्य ठहरिए । उहाँ दाऊद कूलको हुनुहुनेछ । उहाँ राजा दाऊदको घरानाबाट आउनुहुनेछ (यर्मिया ३३:१५-१७ र यशैया ११:1)। उहाँको जन्मस्थल बेथलेहेममा हुनेछ भनी अगमवक्ता मीकाले अगमवाणी गरेका थिए (मीका ५:१)। उहाँ बछेडामा चढेर आउनुहुनेछ (जकरिया ९:९)। उहाँलाई चाँदीका तीस टुक्राहरुमा विश्वासघात गरिनेछ (जकरिया ११:१३)। उहाँका हात र पाउहरु छेडिनेछन् भनी दाऊदले भजनसङ्ग्रहमा अगमवाणी गरेका छन् (भजनसङ्ग्रह २२:१७) । यी सबै अगमवाणीहरु येशू ख्रीष्टको जीवनमा पूरा हुन आए । यति धेरै अगमवाणीहरु छन् जहाँ संयोग वा चालबाजीको कुरा हुन सक्तैन ।
के येशू अगमवक्ता हुनुहुन्थ्यो ?
उहाँका चेलाहरु र येशूले बोल्नुभएको सुन्ने धेरै मानिसहरुले उहाँलाई अगमवक्ता भन्ठाने, तर उहाँ उहिलेदेखि प्रतीक्षा गरिएको मसिहा (मुक्तिदाता) पनि हुनुहुन्थ्यो;
उहाँले तिनीहरूलाई सोध्नुभयो, “कुन कुरा?” तिनीहरूले जवाफ दिए, “येशू नासरीको बारेमा, उहाँ एक जना अगमवक्ता हुनुहुन्थ्यो, र परमेश्वर र सबै मानिसहरूका सामुन्ने काम र वचनमा शक्तिशाली हुनुहुन्थ्यो। लूका २४:१९
र हामीले विश्वास गरेका छौं र जानेका छौं, तपाईं परमेश्वरका पवित्र जन हुनुहुन्छ।” यूहन्ना ६:६९
येशूले जवान मानिसलाई मरेकोबाट पुनर्जीवित पार्नुभएपछि, उहाँलाई उपस्थित भएका मानिसहरुले अगमवक्ताको रुपमा देखेः
तब सबै भयभीत भए, र परमेश्वरको महिमा गरे, र भने, “एक जना महान् अगमवक्ता हाम्रा बीचमा प्रकट भएका छन्,” र “परमेश्वरले आफ्नो प्रजामाथि कृपा गर्नुभएको छ।” लूका ७:१६
जब येशू आफू क्रूसमा मर्नु भन्दा ठीक अघि यरुशेलमा जानुहुन्छ, उहाँलाई ठूलो भीडले स्वागत गर्दछ । उहाँ अगमवक्ता हुनुहुन्छ भनेर यी मानिसहरु पनि विश्वस्त हुन्छन्…।
उहाँले तिनीहरूलाई सोध्नुभयो, “कुन कुरा?” तिनीहरूले जवाफ दिए, “येशू नासरीको बारेमा, उहाँ एक जना अगमवक्ता हुनुहुन्थ्यो, र परमेश्वर र सबै मानिसहरूका सामुन्ने काम र वचनमा शक्तिशाली हुनुहुन्थ्यो। लूका २४:१९
येशूले अगमवक्ता हुँ भनी एक पटक मात्रै दावी गर्नुभयो;
अनि तिनीहरू उहाँसँग चिढ़िए। तर येशूले तिनीहरूलाई भन्नुभयो, “अगमवक्तालाई आफ्नै निज मुलुक र आफ्नै निज घरमा बाहेक अन्यत्र सबै ठाउँमा आदर हुन्छ।” मत्ती १९:५७ (लूका ४:२४ र लूका १३:३३ पनि हेर्नुहोस् ।)
चङ्गाइ र आश्चर्यकर्महरु
सुसमाचारहरु (उहाँका चेलाहरुका प्रत्यक्षदर्शी गवाहीहरु) मा उहाँले अरु कुनै सामान्य व्यक्तिले गर्न नसक्ने सबै किसिमका कार्यहरु गर्नुहुन्छ;
- उहाँले पानीलाई दाख रसमा परिवर्तन गर्नुहुन्छ ।
- उहाँले सयौं कोस टाढा बिरामी जवान व्यक्तिलाई निको पार्नुहुन्छ ।
- उहाँले जन्मैदेखि पक्षघाती मान्छेलाई निको पार्नुहुन्छ ।
- उहाँले ५,००० भन्दा मानिसहरुलाई खुवाउनुहुन्छ ।
- उहाँ पानीमाथि हिँड्नुहुन्छ ।
- उहाँले दृष्टिविहीनलाई निको पार्नुहुन्छ ।
- उहाँले मरेकाबाट (लाजरस लगायत) कैंयन मानिसहरुलाई पुनर्जीवित पार्नुहुन्छ ।
- उहाँ आफै मरेकोबाट पुनर्जीवित हुनुहुन्छ ।
उहाँले आफू प्रकृतिको नियमभन्दा माथि र मानिसहरुलाई निको पार्ने र तिनीहरुलाई मरेकोबाट समेत पुनर्जीवित पार्ने शक्ति छ भनी देखाउनुहुन्छ ।
हाम्रो निम्ति उत्तम उदाहरण, येशू के महान् अगमवक्ता र शिक्षक हुनुहुन्थ्यो, वा उहाँ तीभन्दा पनि अझ ठूलो हुनुहुन्थ्यो ?
येशू अगमवक्ताभन्दा ठूलो हुनुहुन्थ्यो ।
येशू ख्रीष्टलाई “वचन” पनि भनिन्छ । यूहन्ना (येशूका एक जना चेला) ले निम्न वाक्यहरुसाथ आफ्नो प्रत्यक्षदर्शी गवाही सुरु गर्दछन्;
आदिमा वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो, अनि वचन परमेश्वर हुनुहुन्थ्यो। उहाँ आदिमा परमेश्वरसँग हुनुहुन्थ्यो। सबै थोक उहाँद्वारा बनिए, र बनिएको कुनै थोक पनि उहाँविना बनिएन। उहाँमा जीवन थियो, र त्यो जीवन मानिसहरूको ज्योति थियो। 5त्यो ज्योति अन्धकारमा चम्कन्छ, र अन्धकार त्यसमाथि विजयी भएको छैन।परमेश्वरबाट पठाइएका एक जना मानिस थिए, जसको नाउँ यूहन्ना थियो। उनीद्वारा सबैले विश्वास गरून् भनेर त्यस ज्योतिको गवाही दिन उनी साक्षी भई आए। 8उनी आफै त्यो ज्योति थिएनन्, तर त्यस ज्योतिको गवाही दिन आए। हरेक मानिसलाई ज्ञान प्रदान गर्ने साँचो ज्योति संसारमा आउँदैहुनुहुन्थ्यो। उहाँ संसारमा हुनुहुन्थ्यो,संसार उहाँद्वारा बनियो, तापनि संसारले उहाँलाई चिनेन। उहाँ आफ्नै मानिसहरूकहाँ आउनुभयो, तर उहाँका आफ्ना मानिसहरूले उहाँलाई ग्रहण गरेनन्। तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्वास गरे, उहाँले तिनीहरूलाई परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो। तिनीहरू रगतद्वारा, शारीरिक इच्छाद्वारा, र कुनै मान्छेको इच्छाद्वारा होइन तर परमेश्वरबाट जन्मिएका हुन्छन्।
अनि वचन देहधारी हुनुभयो, र अनुग्रह र सत्यताले पूर्ण भई हाम्रा बीचमा वास गर्नुभयो। हामीले उहाँको महिमा देख्यौं, जुन महिमा पिताबाट आउनुभएको एकमात्र पुत्रको जस्तो थियो। यूहन्नाले उहाँको विषयमा गवाही दिँदै उच्च स्वरले भने, “उहाँ त्यही व्यक्ति हुनुहुन्छ, जसको विषयमा मैले भनें, ‘मपछि आउनुहुने मभन्दा उच्च हुनुहुन्छ, किनभने उहाँ मभन्दा अघिबाटै हुनुहुन्थ्यो’।” उहाँका अनुग्रहको पूर्णताबाट हामीले एउटा अनुग्रहमाथि अर्को अनुग्रह पाएका छौं। किनभने व्यवस्था मोशाद्वारा दिइयो, अनुग्रह र सत्यताचाहिँ येशू ख्रीष्टद्वारा आए। परमेश्वरलाई कसैले कहिल्यै देखेको छैन। पिताको साथमा हुनुहुने एक मात्र पुत्रले उहाँलाई प्रकट गर्नुभएको छ। यूहन्ना १:१-१८
येशूभन्दा अगाडिका सबै अगमवक्ताहरुले सङ्केतहरु गरेका थिए । अहिले आएरचाहिं ती अगमवाणीहरु सत्य प्रमाणित भएका छन्: परमेश्वर स्वयम आफ्नो महान् योजना पूरा गर्न पृथ्वीमा आउदै हुनुहुन्छ । हाम्रो पापलाई बाधक नमानीकन मुक्तिको योजनाद्वारा मानव जातिलाई प्रेम गर्न परमेश्वरको निम्ति सम्भव भयो । तपाईंले यस वेबसाइटको मूल कथामा यस बारे अझ धेरै पढ्न सक्नुहुन्छ ।
येशूले पापहरु क्षमा गर्नुहुन्छ
येशूले मानिसहरुलाई निको मात्रै पार्नु हुँदैन, तर उनीहरुका पापहरु पनि क्षमा गर्नुहुन्छ । यो कुरा तलका उदाहरणहरुमा देख्न सक्छौं;
येशूले तिनीहरूको विश्वास देखेर त्यस पक्षाघातीलाई भन्नुभयो, “ए छोरा, तिम्रा पापहरू क्षमा भए।” मर्कूस २:५
अनि उहाँले त्यस स्त्रीलाई भन्नुभयो, “तिम्रा पाप क्षमा भएका छन्।” लूका ७:१-४८
येशू प्रभुलेयहाँ परमेश्वरको तर्फबाट क्षमा नगर्नुभएको कुरा स्पष्ट पार्नुहुन्छ; उहाँले आफ्नै अधिकारमा ती मानिसहरुका पापहरु क्षमा गर्नुहुन्छ । कुनै पनि मानिसले त्यसो गर्न सक्तैन । येशूले उहाँ स्वयम परमेश्वर हुनुभएको र क्षमा दिने अधिकार उहाँसित मात्रै रहेको कुरा प्रदर्शन गर्नुभयो ।
त्यसो गरिकन, उहाँ ईश्वरीय भएको दावी गर्नुहुन्छ ।
धार्मिक अगुवाहरु येशू मरेको चाहन्थे किनभने उनीहरु आफ्नो अधिकार गुम्ला भनेर डराएका थिए । उनीहरु येशूलाई रोमी शासकहरुले न्याय गरून् भनी चाहन्थे तर उहाँ विरुद्दमा कुनै खास दोषहरु भेट्न सकेनन् । येशूले परमेश्वरको पुत्र हुँ भनी दावी गर्नु भएको एउटा दोष मात्रै उनीहरुले भेट्टाउन सके । येशूको त्यो दावीलाई ईश्वरनिन्दाको रुपमा लिइन सक्थ्यो । येशूलाई प्रधान पूजाहारी (धार्मिक अगुवा) कहाँ ल्याइँदाखेरि उहाँले त्यो दावी पुष्टि गर्नुभयो;
तर येशू चूप लाग्नुभयो, र केही जवाफ दिनुभएन। फेरि प्रधान पूजाहारीले उहाँलाई सोधे, “के तँ परमधन्यको पुत्र ख्रीष्ट होस्?” येशूले भन्नुभयो, “म हुँ, अनि तपाईंहरूले मानिसको पुत्रलाई सर्वशक्तिमान्को दाहिने बाहुलीतर्फ बसिरहेको र आकाशका बादलहरूका साथमा आइरहेको देख्नुहुनेछ।” मर्कूस १४:६१-६२
तब परमेश्वरले मोशालाई भन्नुभयो, “म हुँ जो म हुँ।” फेरि उहाँले भन्नुभयो, इस्राएलीहरूलाई तैंले यसो भन्नू, “म हुँ” भन्नेले तिमीहरूकहाँ मलाई पठाउनुभएको हो। प्रस्थान ३:१४
उहाँका चेलाहरु सुसमाचारको खातिर मरे
येशू आफूलाई ईश्वरीय हुँ भनी विश्वास गर्ने बडप्पन भएको कोही व्यक्ति हुनुहुन्छ भन्ने तपाईंलाई लाग्ला।
उहाँले कतिपय व्यक्तिहरुलाई त्यो कुरा पनि विश्वस्त तुल्याउनुभयो होला ।
तथापि, उहाँ साधरण मानिस हुनुहुन्न भन्ने सारा प्रमाणको तथ्य उहाँका चेलाहरुका निम्ति सुस्पष्ट थियो जसले गर्दा उनीहरुले आफ्नो जीवनलाई भन्दा मानिसहरुलाई येशूको बारेमा बताउनु अर्थात परमेश्वर पृथ्वीमा आउनुभएको सन्देश सुनाउनुलाई बढी महत्त्वपूर्ण ठाने ।
यूहन्ना बाहेक, येशूका ११ जना चेलाहरु येशूको सुसमाचार बाँडेकोमा शहीद बनाइए, मारिए । ती ११ जनाले मात्रै होइन, तर अन्य धेरै व्यक्तिहरुले पनि आफ्नो जीवनभन्दा ख्रीष्टको विश्वासलाई महत्त्वपूर्ण ठाने । उहाँको सन्देश झूटमा वा शङ्काजनक तथ्यहरुमा आधारित भएको भए, उहाँका चेलाहरु र अन्य धेरै अनुयायीहरु मुक्तिको सुसमाचार सुनाउन आफ्नो जीवनलाई दाउमा राख्ने थिएनन् ।
येशू ख्रीष्टको बारेमा अधिक जानकारी
- यस लेखमा येशू ख्रीष्टको बारेमा अझ धेरै पढ्न सक्नुहुन्छ ।
- यस लेखमा उहाँलाई परमेश्वरको पुत्र भनिनुको कारण बारे पढ्नुहोस् ।
अथवा, तपाईंले जुन पृष्ठबाट सुरु गर्नुभयो त्यही पृष्ठमा फर्कनुहोस्:
.