येशूको जीवन

येशू ख्रीष्ट २००० वर्ष अघि इस्राएलमा जन्मनुभयो  ।  यो कुरा तपाईंले बाइबलमा पढ्न सक्‍नुहुन्छ, उदाहरणको निम्ति लूकाको सुसमाचारमा ।  शताब्दियौअघि, मुक्तिदाताको आगमन बारे विभिन्‍न अगमवक्ताहरुले घोषणा गरेका थिए ।

उहाँको जन्म

येशू संसारमा आउनुभयो । येशू अरु मानिसजस्तै आमाद्वारा जन्मनुभयो । तर  उहाँ र अरु बीच ठूलो भिन्‍नता थियो । उहाँकी आमा मरियम मानिसद्वारा गर्भवती हुनुभएको थिएन  । उहाँ परमेश्वरको पवित्र आत्माद्वारा गर्भवती हुनुभयो  । त्यो ईश्वर र मानवको अद्वितीय सङ्गम थियो । उहाँलाई येशू (जसको अर्थ मुक्तिदाता हुन्छ) नाम दिइयो र उहाँलाई परमेश्वरको पुत्र पनि भनियो ।

येशू बेथलेहेमको गाउँमा जन्मनुभयो  र नासरतमा हुर्कनुभयो । उहाँ सामान्य परिवारमा हुर्कनुभयो र उहाँको पार्थिव पिता सिकर्मी थिए ( लूका १ र २ पनि हेर्नुहोस्) । त्यस बेला इस्राएल रोमीहरुको कब्जामा थियो । येशू किशोर हुनुहुँदाखेरि नै मानिसहरु उहाँको ज्ञान र अन्तर्दृष्टदेखि अचम्मित हुन्थे ( लूका २:४७ ) ।

उहाँको सन्देश

येशू लगभग ३० वर्षको पुग्‍नुहुँदा मानिसहरुलाई सुसमाचार बारे बताउन थाल्नुभयो । उहाँले आफ्नो कालमा आफ्नो  गृह नगरदेखि लगभग ३०० किलो मिटरभन्दा बढी यात्रा गर्नुभएन । तथापि, उहाँ इस्राएलदेखि धेरै परपरसम्म चिनिनुभयो । उहाँले परमेश्वरको बारेमा बताउनुभएको तरिका र उहाँले प्रस्तुत गर्नुभएको व्याख्याले मानिसहरु छक्‍क पर्दथे  । उहाँले जे विषयमा बोलिरहनुभएको थियो त्यो उहाँलाई थाहा थियो भन्‍ने कुरा स्पष्ट थियो।

मानिसहरुको निम्ति उहाँको सन्देश थियोः

 “पश्‍चात्ताप गर, किनभने स्‍वर्गको राज्‍य नजिक आइपुगेको छ।” (मत्ती ४:१७)

उहाँले मानिसहरुलाई परमेश्वर र उनीहरु वरिपरिका मानिसहरुलाई प्रेम गर्न सिकाउनुभयो । उहाँले तिनीहरुलाई आफ्ना शत्रुहरुलाई समेत प्रेम गर्न सिकाउनुभयो  । उहाँले अरुहरुलाई क्षमा दिने तरिका सिकाउनुभयो  । आफूले गरेको हरेक कार्यमा उहाँले त्यही प्रेम प्रकट गर्नुभयो ।

मानिसहरुले आफ्नो जीवनमा भूल गर्दछन्  र हामी प्रायः परमेश्वरको इच्छा गर्दैनौं भन्‍ने कुरा येशूले एकदमै स्पष्ट पार्नुभयो ।  हाम्रो अनाज्ञाकारिता हामी र परमेश्वरबीच बाधक बन्दछ (यशैया ५९:२) । परमेश्वर प्रेमिलो मात्रै हुनुहुन्‍न, तर उहाँ न्यायी पनि हुनुहुन्छ र त्यही कारणले उहाँले हाम्रो अनाज्ञाकारितालाई बेवास्ता गर्न सक्‍नुहुन्‍न ।

उहाँ अन्याय स्वीकार गर्न सक्‍नुहुन्‍न र अन्याय गर्नेहरुसित कुराकानी गर्नुहुनेछैन । उहाँले सबै मानिसलाई मृत्युपछि न्याय गर्नुहुनेछ । र, हामी सबैलाई त्यसको परिणाम थाहा छ ।  कसैले पनि परमेश्वरको स्तर पूर्ण रुपमा पूरा गर्न सक्तैन । परमेश्वर तपाईंको हृदयको अवस्थासित जतिकै तपाईंको व्यवहारसित पनि त्यति नै सरोकार राख्‍नुहुन्छ भन्‍ने येशूको व्याख्‍या जब तपाईं विशेष गरी सुन्‍नु हुँदैन । कसैलाई हत्या गर्नु असल होइन, तर कसैको निम्ति हृदयमा कुनै नराम्रो मनशाय राख्‍नु पनि परमेश्वरको निम्ति खासमा हत्या सरह नै हुन्छ। हाम्रा पापहरुको कारणले, परमेश्वरको नजरमा कृपा पाउनु सम्भव हुँदैन र पापकै कारण स्वर्गमा अनन्त भविष्य पनि सम्भव छैन । त्यसैले हाम्रो गन्तव्य परमेश्वरको उपस्थिति र प्रेमदेखि अलग स्थान नरक हो ।

तर… हाम्रा दुर्बलताहरुको बाबजुद पनि परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्छ । हामी उहाँको राज्यमा उहाँसित सहभागी भएको परमेश्वर चाहनुहुन्छ । उहाँ हामीलाई अनिवार्य विनाशदेखि बचाउनु चाहनुहुन्छ। यही कारणले येशू पृथ्वीमा आउनुभयो।

येशू भन्‍नुहुन्छ-बाटो,सत्य र जीवन म नै हुँ ( यूहन्‍ना १४:६) । पिता परमेश्वरसित मिलाप हुने एउटै मात्र बाटो छ । स्वर्ग प्रवेशको निम्ति ढोका एउटा मात्रै छ ( यूहन्‍ना १०:९)। येशू परमेश्वरको पुत्र हुनुहुन्छ र मेरा पापहरुदेखि मलाई बचाउन उहाँ मेरो उद्वारकर्ता बन्‍न चाहनुहुन्छ भनी विश्वास गर्नुहोस् ।

आश्चर्यकर्म र चङ्गाइ

येशूले धेरै आश्चर्यकर्महरु गर्नुभयो, मानिसहरुलाई निको पार्नुभयो, र केही व्यक्तिहरुलाई मरेकोहरुबाट पनि जीवित पार्नुभयो। उहाँले यस्ता कार्यहरु गरेर उहाँ मानव मात्रै हुनुहुन्‍न तर परमेश्वर पनि हुनुहुन्छ भन्‍ने कुरा प्रमाणित गर्नुभयो । यी आश्चर्यकर्महरु उहाँ साँच्चिकै प्रतिज्ञा गरिएको मसिहा हुनुहुन्छ भन्‍ने प्रमाण हुन् । शारीरिक चङ्गाइ उहाँको प्रमुख लक्ष्य होइन । तपाईं आत्मिक रुपमा निको हुनुभएको होस् भन्‍नेचाहिँ उहाँको सन्देश हो । तपाईं साँचो रुपमा निको हुनको निम्ति तपाईंका पापहरु क्षमा हुनुपर्दछ । 

भविष्यवाणीहरु पूरा भए

येशू जन्‍मनु शताब्दियौंअघि, मुक्तिदाताको आगमन बारे कैंयन अगमवक्ताहरुले भविष्यवाणी गरेका थिए। ती भविष्यवाणीहरु पृथ्वीमा येशूको जीवन अवधिमा वास्तविकतामा परिणत भए । म यहाँ केही भविष्यवाणीहरुलाई उल्लेख गर्नेछु । उहाँ राजा दाऊदको घरानाबाट आउनुभयो (यर्मिया ३३:१५-१७)। उहाँ बेथलेहेममा जन्मनुभयो  (मीका ५:२)। उहाँले मानिसहरुलाई निको पार्नुभयो (यशैया ३५:५-६)। उहाँको मृत्यु हुनु केही समय अघि उहाँ बछेडामा चढेर यरुशलेम शहर प्रवेश गर्नुभयो (जकरिया ९:९)। उहाँ मानव जातिको निम्ति मुक्तिदाताको रुपमा मर्नुभयो  (यशैया ५३)। उहाँका क्रूसीकरणमा उहाँका हड्डीहरु भाँचिएनन्, प्राय हड्डीहरु भाँचिने हुन्थ्यो (भजनसङ्ग्रह २२:१९;  ३४:२१, जुन मर्कूस  १५:२४ र  यूहन्‍ना १९:३३-३६मा पूरा भए।) पृथ्वीमा उहाँको जीवनमा समग्रमा ३०० भन्दा बढी भविष्यवाणीहरु पूरा भए ।

उहाँको मृत्यु

येशूले म परमेश्वरको पुत्र हुँ भनी घोषणा गर्नुभएको सन्देश धार्मिक यहूदी मानिसहरुका निम्ति सबैभन्दा चकित पार्ने सन्देश थियो । आखिर, उनीहरुको विचारमा त्यो ईश्वर-निन्दा र व्यवस्थाको उल्लङ्घन थियो । त्यसैले,  धार्मिक अगुवाहरुले येशूलाई मृत्यु दण्ड दिइयोस् भनी रोमी शासकहरुलाई अनुरोध गरे ।

विभिन्‍न रोमी अगुवाहरुले येशूलाई निर्दोष भेट्टाए ।  यहूदी अगुवाहरुले समेत येशूले आफूलाई परमेश्वरको पुत्र भन्‍नुभएको बाहेक उहाँको जीवनमा दोष लगाउनु पर्ने अरु केही छैन भनी स्वीकार गर्नु परेको थियो । येशू दोषरहित जीवन बिताउनुभयो साथै यहूदी व्यवस्थाअनुसार जिउनुभयो । तथापि, यहूदी धार्मिक अगुवाहरु भीडलाई उत्तेजित गर्न र यसरी मृत्यदण्डको अधिकार दिलाउनको निम्ति रोमी शासकलाई उक्साउन सफल भए ।  

येशूलाई डरलाग्दो तरिकाले मृत्यदण्ड दिइयो । उहाँलाई क्रूसमा टाँगियो । क्रूसीकरण भनेको मानिसलाई हातहरु क्रूसमा टाँगेर झुन्ड्याउनु हो । यो अत्यन्तै अपमानजनक र घृणित मृत्युदण्ड हो ।

येशूको मृत्युचाहिँ मानव जातिको निम्ति परमेश्वरको योजनाको हिस्सा थियो । उहाँको क्रूसीकरणको समयमा येशूमा हाम्रा पापहरुको दण्ड खन्याउने परमेश्वरको योजना थियो । मानव बन्‍नुभएको  येशूले परमेश्वरविहीन हुँदा कस्तो हुँदो रहेछ भन्‍ने कुरा अनुभव गर्नुभयो । उहाँमा विश्वास गर्ने सबैले क्षमा पाउन सकून् भनेर उहाँ हाम्रा पापहरुको निम्ति मर्नुभयो ।

येशू क्रूसमा मर्नुभयो (लूका २३) । उहाँको शारीरिक मृत्युचाहिँ परमेश्वरको प्रेम अति प्रबल छ भन्‍ने दृश्य प्रमाण हो जसले गर्दा येशूले हाम्रो निम्ति मृत्यु भोग्‍नुभयो । हाम्रो सट्टाको उहाँको मृत्युको कारणले हामीलाई नयाँ जीवनको अवसर दिइएको छ ।

येशू मर्नुभएको समयमा, भूकम्प गयो । चिहानहरु उघ्रे, र मरेका धेरै विश्वासीहरु फेरि जीवित भए । उनीहरु चिहानबाट निस्किआए र येशू मरेकोबाट पुनर्जीवित हुनुभएपछि, उनीहरु यरुशेलमको पवित्र शहरमा गए । उनीहरुलाई धेरै मानिसहरुले देखेका थिए । सेनापति र येशूलाई पहरा दिएर बसेका सिपाहीहरु भूकम्प र घटेका घटनाहरुको प्रत्यक्षदर्शी भए । उनीहरु भयभीत हुँदै भने,”हो, येशू साँच्चै परमेश्वरको पुत्र हुनुहुँदो रहेछ !” (मत्ती २७:५०-५४)

मरेकोबाट पुनर्जीवित

येशूको शरीरलाई चट्टान खोपिएको चिहानमा राखी चिहानको मुखमा ठूलो ढुङ्गोले ढाकिएको थियो । येशूले आफ्नो मृत्युअघि म पुनर्जीवित हुनेछु भनी उल्लेख गर्नुभएको थियो ।  धार्मिक अगुवाहरु उहाँका चेलाहरुलाई उहाँको मृतक शरीर लिएर जान र उहाँ पुनरूत्थान हुनुभयो भनी प्रचार गर्नदेखि रोक्‍न चाहन्थे । त्यसैले उनीहरुले चिहानको सुरक्षा गर्नको निम्ति रोमी सिपाहीहरुको एउटा टोली व्यवस्था गरे ।

तीन दिनपछि, येशू चिहानबाट पुनर्जीवित भई उठ्नुभयो । तपाईंले यस बारे मत्ती २८ मा थप पढ्न सक्‍नुहुन्छ । येशू परमेश्वर र मानिस दुवै हुनुहुन्थ्यो । मानवको रुपमा, उहाँ मर्न सक्‍नुहुन्थ्यो । उहाँ साँच्चै मर्नुभयो र उहाँले होश मात्रै गुमाउनुएको होइन भन्‍ने प्रमाण पर्याप्त छ । तर परमेश्वर अनन्त हुनुहुन्छ र उहाँ मर्न सक्‍नुहुन्‍न । यदि येशू मृतकको रुपमा रहिरहनु भएको भए, यस कुराले उहाँ ईश्वरीय व्यक्ति पनि हुनुहुन्‍न थियो भन्‍ने कुरा झल्काउने थियो । उहाँको शारीरिक पुनरुत्थानले उहाँ परमेश्वर हुनुहुन्छ भन्‍ने उहाँका भनाइहरु पुष्टि गर्दथ्यो ।

उहाँको पुनरुत्थानद्वारा, येशूले उहाँको सन्देश विश्वसनीय छ भन्‍ने प्रमाणित गर्नुभयो । उहाँले आफ्नो पुनरुत्थानद्वारा मैले पापको दण्डलाई पराजीत गरेको छु भनेर पनि प्रमाणित गर्नुभयो । उहाँमा विश्वास गर्नेहरुलाई उहाँको पुनरुत्थानले भविष्यको आशा प्रदान गर्दछ । उहाँमा विश्वास गर्ने हरेकले मृत्युपछि स्वर्गमा परमेश्वरसित अनन्त जीवन छ भनी पक्‍का हुन सक्छ ।

स्वर्गमा

आफ्नो पुनरुत्थानपछि, येशू ४० दिनसम्‍म इस्राएलका विभिन्‍न ठाउँहरुमा देखा पर्नुभयो । धेरै मानिसहरु लगायत ५०० भन्दा बढीको समूह उहाँको प्रत्यक्षदर्शी भए  (१ कोरिन्थी १५:६)। ४० दिनको अवधिपछि, उहाँले स्वर्ग जानुभई पृथ्वी छोड्नुभयो  (प्रेरित १)। परमेश्वरले तोक्‍नुभएको समयमा उहाँको दोस्रो आगमन हुनेछ ।

विश्वभरि सुसमाचार फैलियो

त्यस बेलादेखि, येशूका चेलाहरुको सङ्ख्या तीव्र गतिमा बढ्दै गयो ।  पेन्तिकोसको समयमा एकै दिनमा ३००० मानिसहरु थपिए । धार्मिक अगुवाहरुले येशूका चेलाहरुलाई गिरफ्तार गरेर र हत्या गरेर सुसमाचारलाई रोक्‍न खोजे । तर धेरै चेलाहरुले परमेश्वरमा आफ्नो विश्वास त्याग्‍नुको सट्टा मृत्यु रोजे ।

एक शताब्दिभन्दा कम अवधिमा, येशूको सन्देश सारा रोमी साम्राज्य (एशिया र यूरोप) भरि र त्यसपछि चाँडै विश्वभरि फैलियो ।  मानिसहरुलाई बचाउनको निम्ति परमेश्वरले आफ्नो पुत्रलाई पठाउनुभएको सन्देशले नाटकीय रुपमा अरबौंका जीवनहरु परिवर्तन गरेको छ ।

यो सुसमाचार अरु धर्महरु जस्तो नभई अद्वितीय छ । हामीले हाम्रा सृष्टिकर्ताको कृपामा रहनको निम्ति सक्दो प्रयास गर्नुपर्दैन । आखिर, हामी कहिल्यै सफल हुनेछैनौं। परमेश्वर स्वयमले हामीप्रति आफ्नो बाहुली फैलाउनुहुन्छ र स्वर्गमा उहाँसित रहन हामीलाई ठाउँ प्रदान गर्नुहुन्छ;

“किनभने परमेश्‍वरले संसारलाई यस्‍तो प्रेम गर्नुभयो, कि उहाँले आफ्‍ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्, तर त्‍यसले अनन्‍त जीवन पाओस्‌। यूहन्‍ना ३:१६

.

येशूको जीवन
के येशू अगमवक्ताभन्दा ठूलो हुनुहुन्थ्यो ?
के परमेश्वरको पुत्र हुन सक्छ ?
के येशू साँच्चै क्रूसमा मर्नुभयो ?
के परमेश्वर मर्न सक्‍नुहुन्छ ?
के अरु नै कोही क्रूसमा मरेको थियो ?
के एउटै परमेश्वर ३ व्यक्तित्व हुन सक्‍नुहुन्छ र ?
परमेश्वरसित कुराकानी गर्ने तरिका

(१) ख्रीष्टको अर्थ राजा, मसिहा, उद्वारकर्ता, अभिषेक जन भन्‍ने हुन्छ  ।

(२) येशूका भविष्यवाणीहरु  पनि हेर्नुहोस्