के अरु नै कोही क्रूसमा मरेको थियो ?

येशू ख्रीष्टको सट्टामा क्रूसमा अरु कोही मरिदिएको थियो भनेर विश्वास गर्ने केही मानिसहरु छन् । कसै-कसैले येशूलाई धोका दिने चेला यहूदा मरेको थियो भन्छन् । अरु कसैले चाहिँ रोमीहरुले येशूको निम्ति क्रूस बोक्‍न लगाइएको साइरेनीको सिमोन थियो भन्छन् ।

समान देखिने व्यक्ति ?

कुरानको पद अनुसार (सुरा ४:१५७), येशूको ठाउँमा उस्तै देखिने व्यक्ति राखियो होला भनेर तर्क दिइन्छ । परमेश्वरले येशूको ठाउँमा अरु नै कोही व्यक्ति किन राख्‍नु पर्थ्यो र? भन्‍ने यस सन्दर्भको अत्यन्तै महत्त्वपूर्ण प्रश्‍न हो ।

सम्पूर्ण बाइबलले मुक्तिदाताको आगमनलाई औंल्याउँदछ ।  सुसमाचारका पुस्तकहरु र उहाँका चेलाहरुका प्रत्यक्ष साक्षी विवरणहरुले येशू पृथ्वीमा आउनुको कारण स्पष्ट रुपमा बताएका छन्: हाम्रा सारा पापहरुको सट्टामा मर्नको निम्ति । त्यसो भए, परमेश्वरले उहाँको ठाउँमा किन कसैलाई सट्टा बनाउनु हुन्थ्यो र ? यो कुरा  हाम्रा पापपूर्ण र विद्रोही व्यवहारका परिणामहरुको निम्ति येशू ख्रीष्टद्वारा मुक्ति छ भन्‍ने सुसमाचारको सन्देशसित पूर्ण रुपमा अमिल्दो छ ।

येशूका पछिल्ला चेलाहरुले बाइबलका विषय-वस्तुहरु परिवर्तन गरे होलान् भन्‍ने अर्को सामान्य तर्क रहेको पाइन्छ । परमेश्वरको विश्वसनीयताको दृष्टिकोणबाट, यो अत्यन्तै प्रश्‍नवाचक  तर्क हो । आखिर, परमेश्वरले आफ्नो सत्यतालाई किन तोडमोड गर्न दिनुहुन्थ्यो र ? यदि तपाईं बाइबलको विश्वसनीयता बारे अझ धेरै जान्‍न इच्छुक हुनुहुन्छ भने, यो लेख पढ्नुहोस्।

येशूले धेरै पटक आफ्नो मृत्यको भविष्यवाणी गर्नुभएको थियो

येशूको मृत्यु र पुनरुत्थान बाइबलको सबैभन्दा मुख्य घटनाहरु हुन् । धेरै अवसरहरुमा येशू स्वयमले म मर्नेछु र मेरो पुनरुत्थान हुनेछ भनी घोषणा गर्नुभएको थियो । तीमध्ये केही घोषणाहरु यस प्रकार छन्:

उहाँ कसरी यरूशलेममा जानुपर्छ, र धर्म-गुरु र मुख्‍य पूजाहारीहरू र शास्‍त्रीहरूबाट धेरै कष्‍ट भोग्‍नुपर्छ, मारिनुपर्छ र तेस्रो दिनमा जीवित भइउठ्‌नुपर्छ भनी उहाँले त्‍यस बेलादेखि आफ्‍ना चेलाहरूलाई बताउन थाल्‍नुभयो। मत्ती १६:२१

अनि उहाँले भन्‍नुभयो, “मानिसको पुत्रले धेरै दुःख उठाउनुपर्छ, र उनी धर्म-गुरुहरू, मुख्‍य पूजाहारीहरू र शास्‍त्रीहरूबाट बहिष्‍कृत हुनेछ, मारिनेछ र तेस्रो दिनमा मृतकबाट जीवित भई उठ्‌नेछ।” लूका ९:२२

अरु कसैलाई मर्न लगाएर परमेश्वरले मानव जातिलाई किन यति धेरै बेकुफ बनाउनु हुन्थ्यो र ? यदि त्यस्तै घटना हुन्थ्यो भने के हामी उहाँलाई अझै विश्वास गर्न सक्थ्यौं र ?

बाइबलमा भएको हरेक कुराले येशू क्रूसमा मर्नुभयो र  हाम्रा पापहरुको निम्ति दण्ड भोग्‍नुभयो भन्‍ने तथ्यलाई औंल्याउँदछ । परिणाम स्वरुप, परमेश्वरले आफ्नो विश्वसनीयता र न्यायमा सम्झौता नगरी हामीलाई क्षमा दिन सक्‍नुहुन्छ ।

येशू ख्रीष्ट स्वयम क्रूसमा मर्नुभयो भनी प्रस्तुत गर्ने केही थप व्यावहारिक तर्कहरु पनि हेर्नेछौं;

येशूका विरोधीहरु उहाँ मरेको चाहन्थे

धेरै मानिसहरु क्रूसीकरण हेर्न आएका थिए । येशूका मित्रहरु र शत्रुहरु पनि क्रूसीकरणको समयमा त्यहाँ थिए । त्यसैले, त्यहाँ गोप्य रुपमा व्यक्ति परिवर्तन गर्नु असम्भव थियो । यदि कोही व्यक्तिलाई  क्रूसमा टाँगिरहेको देखेमा येशूका विरोधीहरुले तुरुन्तै देखिहाल्थे । आखिरमा, उनीहरु येशू मरेको चाहन्थे, र यसरी उहाँको सट्टामा अरु कसैलाई मर्न दिने कुरै हुँदैनथियो ।

प्रताडित व्यक्तिको रुपमा चिनिएको

येशूलाई क्रूसमा टाँगिनु अघि, सबैभन्दा पहिले रोमीहरुले उहाँलाई कोर्रा लगाए । हड्डीका टुक्राहरु जोडिएको कोर्रा प्रयोग गरी कोर्रा हानिएको थियो । यस्तो यातनाको बेलामा छाला  मात्रै धुजाधुजा हुने होइन, तर मांसपेशीहरुमा चोट लागेर प्रायः आन्द्राहरु नै बाहिर निस्कने हुन्थ्यो । उहाँका चोटहरुका कारण येशूलाई सजिलै चिन्‍न सकिन्थ्यो । उहाँलाई कोर्रा लाएपछि, उहाँलाई रोमीहरुले क्रूस ठड्याएको ठाउँमा लिएर गए। कोर्राले गर्दा, बाटोमा येशू साह्रै  कमजोर हुनुभएको थियो, रोमीहरुले  एक जना दर्शकलाई तानेर उहाँको क्रूस बोक्‍न लगाए । त्यस दर्शकको नाउँ साइरेनीको सिमोन थियो । त्यस जुलुसलाई ठूलो भीडले नियाली रहेको थियो । त्यसैले, क्रूस ठड्याएको ठाउँमा जाँदै गर्दा पनि, व्यक्ति बदल्नु असम्भव थियो ।

उहाँको आवाज

क्रूसमा येशूले धेरै पटक बोल्‍नुभयो । उहाँको शरीर चिन्‍न नसकिने भए तापनि उहाँको आवाज अझै थियो । उहाँले क्रूसबाटै आफ्नी आमासित पनि बोल्‍नुभयो । उहाँकी आमाले आफूसित बोल्‍ने को हो भनी ठम्याएको हुनुपर्दछ ।

क्षमाका शब्दहरु

क्रूसमा येशूले उहाँलाई निन्दा गर्नेहरुलाई क्षमादान घोषणा गर्नुभयो । उहाँको छेउमा क्रूसमा झुन्डिएको चोरलाई पनि  तिमी आजै मसित स्वर्गधाममा हुनेछौ भनेर प्रतिज्ञा गर्नुभयो । यी वाक्यहरु आत्मिक अधिकारविना अरु कसैले बोल्‍न सक्दैन ।

चिहानबाट चोरी भयो त ?

येशूका चेलाहरुले उहाँको मृतक शरीरलाई चिहानबाट चोरेर लगे भनेर केही मानिसहरुको भनाइ पाइन्छ । यसो भएको भए, उहाँ मृतकदेखि पुनरुत्थान हुनुभयो भनेर कपोकल्पित कथा बन्‍नेथियो । तर रोमी सिपाहीको टोलीले चिहानलाई कडा सुरक्षा दिएको थियो । कोही पनि व्यक्तिलाई चिहानमा जान नदिनको निम्ति रोमी सिपाहीहरु राखिएका थिए । येशूका चेलाहरुले उहाँका मृतक शरीरलाई चिहानबाट लिएर जालान् र  येशू पुनर्जीवित हुनुभयो भनी हल्ला गर्न थाल्लान् भनेर डराएका यहूदी अगुवाहरुको अनुरोधमा सिपाहीहरुलाई चिहानमा खटाइएका थिए । आखिर, येशूले आफ्नो मृत्युको र  पुनर्जीवित हुनेछु भनी भविष्यवाणी गर्नुभएको थियो । त्यस समयमा कुनै पनि रोमी सिपाहीले आफ्नो कर्तव्य राम्ररी पालन नगरे मृत्यु दण्डको खतरा हुन्थ्यो  । त्यसैले सिपाहीहरु चिहानलाई राम्ररी सुरक्षा गर्न पर्याप्त रुपमा उत्प्रेरित थिए । (मत्ती २७:६२-६६ पनि हेर्नुहोस् )

उहाँका चेलाहरुले सुसमाचारको निम्ति आफ्नो जीवन अर्पण गरे

येशू आफ्नो पुनरुत्थान पछि र ठूलो सङ्ख्याले उहाँलाई देखेपछि पृथ्वीमा ४० दिनसम्म बस्‍नुभयो ।  त्यसपछि, उहाँ स्वर्ग प्रस्थान हुनुभयो । केही समयपछि उहाँका चेलाहरु मानिसहरुलाई परमेश्वरको मुक्तिको योजनाको सुसन्देश सुनाउनको निम्ति सारा संसारमा गए । उहाँका अधिकांश चेलाहरुलाई सुसमाचार प्रचार गरेको कारण जेलमा कोचियो, यातना दिइयो,  र मारियो । झूटमा आधारित सन्देशको निम्ति कसले चाहिँ आफ्नो जीवन अर्पण गर्न चाहन्थ्यो होला र ?

.

येशूको जीवन
के येशू अगमवक्ताभन्दा ठूलो हुनुहुन्थ्यो ?
के परमेश्वरको पुत्र हुन सक्छ ?
के येशू साँच्चै क्रूसमा मर्नुभयो ?
के परमेश्वर मर्न सक्‍नुहुन्छ ?
के अरु नै कोही क्रूसमा मरेको थियो ?
के एउटै परमेश्वर ३ व्यक्तित्व हुन सक्‍नुहुन्छ र ?
परमेश्वरसित कुराकानी गर्ने तरिका
बाइबल कसले लेखेको हो ?