के परमेश्वरको पुत्र हुन सक्छ ?

यस वेबसाइटमा,  हामी सत्यको खोजी गर्दछौं । हाम्रो खोजमा, यस बारे बाइबलले के भन्दछ भन्‍ने बारे दोहोर्‍याएर हेर्नेछौं  । बाइबलले “परमेश्वरको पुत्र” बारेमा प्रायः उल्लेख गरेको पाइन्छ । मलाई थाहा छ, धेरै मुस्लिमहरुलाई यो अभिव्यक्तिसित समस्या हुन्छ । यस लेखमा, म केही गलत बुझाइहरुलाई स्पष्ट पार्न र “परमेश्वरको पुत्र” वाक्यांश बारे बारम्बार सोधिने प्रश्‍नहरुको उत्तर दिने कोसिस गर्नेछु।

मैले स्पष्ट पार्न चाहेको पहिलो गलत बुझाइ भनेको केही मानिसहरुले परमेश्वरले मरियमसँग शारीरिक सम्पर्क राख्‍नुभयो होला भनी कल्पना गर्ने गर्दछन् । यधपि, परमेश्वर र मरियम बीच यौन सम्बन्ध र विवाह थिएन । परमेश्वरको आत्माद्वारा कन्या मरियम गर्भवती भइन् । म यही लेखमा यस बारेमा अलिक बढी चर्चा गर्नेछु ।

यदि बाइबलको सन्देश झूटो हो भने के होला ?

यदि आजको बाइबलको सन्देश मूल ग्रन्थभन्दा फरक छ भन्ने तपाईंलाई लाग्छ भने, सबैभन्दा पहिला यो लेख  पढ्नुहोस् । साँच्चै, यदि तपाईंलाई बाइबलको विश्वसनीयता बारे शङ्का छ भने, यो लेख पढ्नुको खासै त्यति अर्थ हुँदैन ।

जब तपाईंले बाइबलको मुख्य सन्देश विचार गर्नुहुन्छ, तपाईंले यस बारेमा यो कुरा कि सत्य  हो किचाहिँ बेकार  हो भन्‍ने

 एउटा मात्रै धारणा राख्‍नुहुनेछ ।  यदि बाइबलले हाम्रा सृष्टिकर्ताको सन्देश बताउँदछ भने, तब निम्‍न शब्दहरुमा तपाईंले जीवन-बचाउने सन्देश पाउनुहुनेछ;  

जसले पुत्रमाथि विश्‍वास गर्छ, त्‍यससित अनन्‍त जीवन छ। जसले पुत्रको आज्ञापालन गर्दैन, त्‍यसले जीवन देख्‍नेछैन, तर परमेश्‍वरको क्रोध त्‍यसमाथि रहिरहन्‍छ।” यूहन्‍ना ३:३६

येशूको बारेमा अझ धेरै पत्ता लगाऔं ।  के उहाँ महान् शिक्षक, अगमवक्ता वा त्योभन्दा अझै ठूलो हुनुहुन्थ्यो ?

बाइबलको सन्देश

बाइबलभरि गुञ्‍जिने सबैभन्दा महत्त्वपूर्ण सन्देश यो होः परमेश्वरले आफ्नो सृष्टिलाई प्रेम गर्नुहुन्छ र हामी सबैलाई प्रेम गर्नुहुन्छ । उहाँ हामीले उहाँले चाहेअनुसार जिएको चाहनुहुन्छ । परमेश्वर सम्बन्धको  परमेश्वर हुनुहुन्छ साथै हामीले पनि उहाँलाई प्रेम गरेको चाहनुहुन्छ । 

तर यदि हामी इमान्दार छौं भने, हामी उहाँको प्रेमको जवाफ दिन सक्तैनौं भनेर सचेत हुन्छौं । हामी आफ्नै स्वार्थमा बढी चिन्तित हुन्छौं र त्यसैले प्रायःरमेश्वरले चाहनुभएको ठीक विपरीत कार्य गर्दछौं । परमेश्वर निष्पक्ष र न्यायी हुनुहुन्छ र त्यसैले उहाँ हाम्रो बेइमानी र लाजमर्दो व्यवहारलाई बेवास्ता गर्न सक्‍नुहुन्‍न ।

अझै भन्‍नुपर्दा, उहाँलाई इमान्दारीपूर्वक  खोज्‍नेहरुलाई उहाँ क्षमा गर्न चाहनुहुन्छ तर उहाँ पूर्ण धार्मिक हुनुभएकोले हाम्रा खराब आचरणहरु मात्र क्षमा गर्न सक्‍नुहुन्‍न । हामीलाई कुनै  न कुनै तरिकाले क्षम गर्न सक्‍नको निम्ति, उहाँले विशेष योजना अप्‍नाउनुभयो…। उहाँको योजनाको प्रमुख व्यक्ति येशू ख्रीष्ट हुनुहुन्छ ।

बाइबलले येशू ख्रीष्ट संसारमा आउनुभएको कारण बारे बताउँदछः उहाँ परमेश्वरको प्रतिनिधि हुनुहुन्थ्यो र  उहाँ हामीलाई मृत्युतर्फ लैजाने जीवनको बाटोदेखि बचाउन आउनुभयोः

प्रेम यसैमा छ, कि हामीले परमेश्‍वरलाई प्रेम गरेका होइनौं, तर उहाँले हामीलाई प्रेम गर्नुभयो, र हाम्रा पापको प्रायश्‍चित हुनका निम्‍ति आफ्‍ना पुत्र पठाउनुभयो। १ यूहन्‍ना ४:१०

यस वेबसाइटको मुख्य कथामा  तपाईंले यस बारे अझ धेरै पढ्न सक्‍नुहुन्छ ।

के येशू भयङ्कर सपना देख्‍ने व्यक्ति हुनुहुन्थ्यो वा चलाख ठग हुनुहुन्थ्यो ?

पृथ्वीमा उहाँको मिशनको सुरुदेखि नै, येशू एकदमै विशेष व्यक्ति हुनुहुन्छ भन्‍ने कुरा स्पष्ट हुन्छ । उहाँले आश्चर्यकर्म गर्नुहुन्छ र मानिसहरुलाई निको पार्नुहुन्छ । यी कुरा सामान्य मानिसहरुले गर्न सक्‍ने कुरा होइनन् । तपाईंले उहाँ अगमवक्ता हुनुहुन्छ वा परमेश्वरद्वारा केही गुणहरु प्रदान गरिएको चुनिएको व्यक्ति हुनुहुन्छ भनी सोच्‍नुभएको होला ।

यधपि, उहाँले पापहरु क्षमा गर्ने पनि दावी गर्नु  अर्को विषय हो । आखिर, परमेश्वरविरुद्द गरेको मानिसको  पाप क्षमा गर्ने अधिकार कुनै मानव जातिसित छैन । त्यसो गरेर, येशूले आफू मानव जातिभन्दा बढी हुँ भन्‍ने कुरा दावी गर्नुहुन्छ ।

त्यसकारण, मेरो विचारमा, यहाँ दुई वटा मात्रै सम्भावनाहरु छन्; येशू कि त मूर्ख धारणा भएको व्यक्ति हुनुहुन्थ्यो कि चाहिँ उहाँ साँचो ईश्वरीय व्यक्ति हुनुहुन्छ । यसरी, येशूका चेलाहरुले कि धोकेबाजमा विश्वास गर्दछन् कि चाहिँ साँचो परमेश्वरमा विश्वास गर्दछन् । 

जसले परमेश्‍वरका पुत्रमा विश्‍वास गर्छ, त्‍यसको हृदयमा यस कुराको गवाही हुन्‍छ। परमेश्‍वरमा विश्‍वास नगर्नेले उहाँलाई झूटा तुल्‍याएको हुन्‍छ। किनकि परमेश्‍वरले आफ्‍ना पुत्रको विषयमा दिनुभएको गवाहीमा त्‍यसले विश्‍वास गरेको हुँदैन। १ यूहन्‍ना ५:१०

येशू मानव बन्‍नुभन्दा अघि नै अस्तित्वमा हुनुहुन्थ्यो । :

येशूका एक जना चेला यूहन्‍नाले निम्‍न वृतान्त्त सहित आफ्नो प्रत्यक्ष विवरण सुरु गर्दछन्:

आदिमा वचन हुनुहुन्‍थ्‍यो, वचन परमेश्‍वरसँग हुनुहुन्‍थ्‍यो, अनि वचन परमेश्‍वर हुनुहुन्‍थ्‍यो। उहाँ आदिमा परमेश्‍वरसँग हुनुहुन्‍थ्‍यो। सबै थोक उहाँद्वारा बनिए, र बनिएको कुनै थोक पनि उहाँविना बनिएन। यूहन्‍ना १:१-३

अनि वचन देहधारी हुनुभयो, र अनुग्रह र सत्‍यताले पूर्ण भई हाम्रा बीचमा वास गर्नुभयो। हामीले उहाँको महिमा देख्‍यौं, जुन महिमा पिताबाट आउनुभएको एकमात्र पुत्रको जस्‍तो थियो। यूहन्‍ना १:१४

येशू ख्रीष्टलाई परमेश्वरको वचन  पनि भनिन्छ । उहाँ स्वयम मानिस बन्‍नुभयो । यो परिचयले परमेश्वरको विशेष प्रकृति र संसारको निम्ति उहाँको मुक्तिको योजना बारे अन्तर्दृष्टि प्रदान गर्दछ ।

येशू ख्रीष्टको जन्म

येशू ख्रीष्टका अर्का चेला लूकाले येशूको जन्म वर्णन गर्दछन्; बाइबलले येशू ख्रीष्ट कन्यादेखि जन्‍मनुभयो भनी बताउँदछ भनेर  अधिकांश मानिसहरुलाई थाहा छ । कन्या मरियम पुरुषसित यौन सम्बन्ध नराखीकन गर्भवती हुन्छिन् ।

परमेश्वर र मरियम बीच यौन सम्बन्ध वा विवाह भएको होइन, जसरी केही मानिसहरु सोच्दछन् ।  परमेश्वरको आत्माले कन्या मरियमलाई गर्भवति हुने बनाउनुभयो ।

स्‍वर्गदूतले तिनलाई जवाफ दिएर भने, “पवित्र आत्‍मा तिमीमा आउनुहुनेछ, र सर्वोच्‍चका शक्तिको छाया तिमीमाथि पर्नेछ। यसैकारण जो जन्‍मनुहुनेछ, उहाँ पवित्र, अर्थात्‌ परमेश्‍वरका पुत्र कहलाइनुहुनेछ। लूका १:३५

यसले येशूलाई एक प्रकारको व्यक्ति तुल्याउँछ । उहाँ ईश्वरीय र मानव दुवै हुनुहुन्छ । यो कुरा हामी कहिल्यै पूर्ण रुपमा बुझ्‍न सक्षम हुनेछैनौं, किनभने यस्तो “दोहोरो परिचय” भएको अरु व्यक्ति कोही छैन ।  (मत्ती २  हेर्नुहोस् ।)

येशू ख्रीष्टलाई किन परमेश्वरको पुत्र भनिन्छ ?

हामी “पुत्र” उपाधिलाई भौतिक सम्बन्धसित जोड्ने गर्दछौं, तर यो उपाधिलाई बाइबलमा “प्रतिनिधित्व”को अर्थमा पनि प्रयोग गरिएको छ । प्रतिनिधि भनेको कुनै विशेष  समूह वा देशको हिस्सा हो । यस कुराले भौतिक अर्थमा सन्तान वा  वंशलाई प्रत्यक्ष रुपमा समावेश गर्दैन ।

बाइबली इतिहासमा, केही व्यक्तिहरुलाई “परमेश्वरको पुत्र” भनिएको छ । यस कुराले त्यस व्यक्ति र परमेश्वर बीचको विशेष सम्बन्धलाई सङ्केत गर्दथ्यो । त्यसै गरी, पहिलो मानिस आदमलाई पनि परमेश्वरको पुत्र भनिन्थ्यो । येशू पनि विशेष व्यक्ति हुनुभएकोले, उहाँलाई पनि परमेश्वरको पुत्र उपाधि दिइनु कुनै अनौठो कुरा होइन ।

यधपि, “परमेश्वरको पुत्र” भनी उपाधि दिइएका अरु सबै व्यक्तिहरुभन्दा येशू फरक हुनुहुन्छः येशू प्रभु परमेश्वरको मानव प्रतिविम्ब हुनुहुन्छ भनी बाइबलले हामीलाई सिकाउँदछ;

उहाँ नै परमेश्‍वरका महिमाको प्रतिबिम्‍ब र परमेश्‍वरकै स्‍वभावको वास्‍तविक प्रतिरूप हुनुहुन्‍छ, र सम्‍पूर्ण विश्‍वलाई आफ्‍नो शक्तिको वचनले सम्हाल्‍नुहुन्‍छ। हिब्रू १:३क

येशूले पृथ्वीमा आफ्नो मिशन शुरु गर्नुभएकै क्षणमा, उहाँले सबैभन्दा पहिला बप्तिस्मा दिने यूहन्‍नाद्वारा बप्तिस्मा लिनुभयो । परमेश्वरले त्यस क्षणमा येशू मेरो पुत्र हुनुहुन्छ भनी स्पष्ट तुल्याउनुभयो;

अनि येशू बप्‍तिस्‍मा लिएर तुरुन्‍तै पानीबाट माथि निस्‍कनुभयो, अनि स्‍वर्ग उघ्रियो, र उहाँले परमेश्‍वरका आत्‍मालाई ढुकुरझैँ ओर्लिरहनुभएको र आफूमाथि आइरहनुभएको देख्‍नुभयो। तब स्‍वर्गबाट यो वाणी आयो, “यिनी मेरा प्रिय पुत्र हुन्, यिनीसँग म अति प्रसन्‍न छु।” मत्ती ३:१६-१७

येशू पुत्रमात्रै हुनुहुन्‍न।

परमेश्वर अस्तित्वमा एक हुनुहुन्छ भनी बाइबलले देखाउँदछ । यधपि, उहाँले आफूलाई पिता परमेश्वर, पुत्र परमेश्वर र पवित्र आत्मा परमेश्वर गरी तीन फरक व्यक्तिहरुका रुपमा प्रकट गर्नुहुन्छ ।  यस बारेमा येशू यसो भन्‍नुहुन्छः

पिता र म एक हौं।” यूहन्‍ना १०:३०

हामी मानवको शरीर र आत्मा हुन्छ, जुन हाम्रो जीवन कालभरि अलग्गै रहन सक्तैन  । परमेश्वरको हकमाचाहिँ,  यो कुरा फरक छ । परमेश्वर मानव पनि हुनुभयो, तर तर एकै समयमा उहाँ सबैतिर उपस्थित हुनुहुने अनन्त सृष्टिकर्ता हुनुहुन्थ्यो भनेर बुझ्‍नु हाम्रो निम्ति कठिन छ । 

परमेश्वरको प्रेमिलो योजना के हो भनेर बुझ्‍नको निम्ति, तपाईंले हाम्रो अस्तित्वको आत्मिक पाटो बुझ्‍ने कोसिस गर्नुपर्दछ । हाम्रो आत्मा हाम्रो शरीरमा वास गर्दछ, तर हाम्रो शरीर मरेपछि, हाम्रो आत्मा अस्तित्वमा रहिरहन्छ । यो अधिकांश मानिसहरुलाई थाहा भएको कुरा हो ।  हामी मरेपछि हामी आफ्ना सृष्टिकर्तालाई भेट्नेछौं र हामीले जस्तो जीवन जिएका हुन्छौं त्यसको  निम्ति जवाफदेही हुनेछौं भनेर पनि धेरै मानिसहरु सचेत छन् ।

परमेश्वर आत्मा हुनुहुन्छ, तर आफ्नो योजना पूरा गर्न उहाँ मानव बन्‍नुभयो ।

मानिसहरुले उहाँलाई परमेश्वरको पुत्र भन्दछन्

येशू पृथ्वीमा हुनुहुँदा धेरै मानिसहरुले उहाँ प्रतीज्ञा गरिएको मसिहा, उद्वारकर्ता हुनुहुन्छ भनेर निष्कर्ष निकाले ।  त्यसैले, उनीहरुले उहाँलाई परमेश्वरको पुत्र पनि भनी;

डुङ्गामा हुनेहरूले उहाँलाई दण्‍डवत्‌ गरे, र भने, “साँच्‍चै तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्‍छ।” मत्ती१४:३३

उहाँका नजीकका चेलाहरुले मात्रै होइन तर अरु धेरै मानिसहरुले पनि उहाँलाई परमेश्वरको पुत्र भने । भूतात्मा लागेको व्यक्तिले पनि यसो भनेको थियोः

तिनीहरूले यसो भन्‍दै चिच्‍च्‍याए, “हे परमेश्‍वरका पुत्र, तपाईंको हामीहरूसँग के सरोकार? हाम्रो समय नपुगी हामीहरूलाई कष्‍ट दिन तपाईं यहाँ आउनुभएको हो?” मत्ती८:२९

येशूले आफू परमेश्वरको पुत्र हुँ भनी पुष्टि गर्नुहुन्छ

पृथ्वीमा आफ्नो मिशनको प्रारम्भमा, येशूले आफू परमेश्वरको पुत्र हुँ भनी पुष्टि गर्नुहुन्छ,  तर उहाँले मानिसहरुले  यस बारेमा कुरा नगरून् भनी जोड दिनुहुन्छ ।

तिनीहरूले त्‍यसलाई बाहिर निकालिदिए भन्‍ने येशूले सुन्‍नुभयो, र त्‍यसलाई भेट्टाएर भन्‍नुभयो, “के तिमी मानिसको पुत्रमाथि विश्‍वास गर्दछौ?” त्‍यसले जवाफ दिई भन्‍यो, “प्रभु, उहाँ को हुनुहुन्‍छ? म उहाँमाथि विश्‍वास गर्नेछु?” येशूले त्‍यसलाई भन्‍नुभयो, “तिमीले उसलाई देखेका छौ, अनि तिमीसँग बोल्‍ने उही नै हो।” यूहन्‍ना ९:३५-३७

उहाँ क्रूसमा टाँगिनु ठीक अघि, उहाँले म परमेश्वर हुँ भनी पुष्टि गर्नुहुन्छ ।

तब तिनीहरू सबैले भने, “त्‍यसो भए, के तँ परमेश्‍वरको पुत्र होस्‌?”

तब तिनीहरू सबैले भने, “त्‍यसो भए, के तँ परमेश्‍वरको पुत्र होस्‌?” उहाँले तिनीहरूलाई उत्तर दिनुभयो, “तपाईंहरू नै भन्‍नुहुन्‍छ, म उही हुँ।” लूका २२:७०

“म हुँ” शब्दहरुले बाइबलको पहिलो भागमा परमेश्वरको नाउँलाई सङ्केत गर्दछः

तब परमेश्‍वरले मोशालाई भन्‍नुभयो, “म हुँ जो म हुँ।” फेरि उहाँले भन्‍नुभयो, इस्राएलीहरूलाई तैंले यसो भन्‍नू, “म हुँ” भन्‍नेले तिमीहरूकहाँ मलाई पठाउनुभएको हो।  प्रस्थान ३:१४

त्यसैले, उहाँ मर्नु पर्‍यो

त्यस समयका अधिकांश धार्मिक अगुवाहरुले येशू नै लामो समयदेखि प्रतीक्षा गरिएको मुक्तिदाता हुनुहुन्छ भनेर विश्वास गरेनन्।  उनीहरुले उहाँलाई ईश्वर-निन्दक भने र उहाँलाई मार्न चाहन्थे । उहाँलाई गिरफ्तार गरी धार्मिक अगुवा (प्रधान पूजाहारी) कहाँ लिएर गए;

तर येशू चूप रहनुभयो। प्रधान पूजाहारीले उहाँलाई भने, “जीवित परमेश्‍वरको शपथ खाएर भन्‍दछु, हामीलाई बता, के तँ परमेश्‍वरको पुत्र ख्रीष्‍ट होस्‌?” येशूले तिनलाई भन्‍नुभयो, “तपाईंले नै भनिहाल्‍नुभयो। तापनि म तपाईंहरूलाई भन्‍दछु, अब उप्रान्‍त तपाईंहरूले मानिसको पुत्रलाई सर्वशक्तिमान्‌को दाहिने हातपट्टि बसेको, र आकाशको बादलमा आइरहेको देख्‍नुहुनेछ।” तब प्रधान पूजाहारीले आफ्‍ना वस्‍त्र च्‍याते र भने, “यसले त ईश्‍वर-निन्‍दा बोल्‍यो। हामीलाई अब अरू साक्षीहरूको के दरकार पर्‍यो र? तपाईंहरूले अहिले यसले बोलेको ईश्‍वर-निन्‍दा सुनिहाल्‍नुभयो। मत्ती २६:६३-६५

यदि येशूले मुक्तिदाता मात्रै हुँ भनी दावी गर्नुभएको थियो भने, उहाँले आत्मिक अगुवाहरुबाट कम विरोध भोग्‍न पर्थ्यो होला, तर उहाँले म परमेश्वरको पुत्र हुँ भनी दावी गर्नुभएकोले, उहाँले त्यसबाट उहाँ नै परमेश्वर हुनुहुन्थ्यो भन्‍ने कुरा पुष्टि गर्नुभयो।

येशू हाम्रा पापहरुको निम्ति मर्नुभयो

बाइबलको मुख्य सन्देश भनेको परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्छ र हामी हाम्रा पापहरुका निम्ति क्षमादान पाउन सक्छौं । परमेश्वरसँग हाम्रो मिलाप हुन सक्छ, तर यो कुरा पनि स्पष्ट छ, कि हामी आफैले परमेश्वरसित मिलाप गर्न सक्दैनौं । त्यसैले, कृपा गरी हाम्रा अपराधहरु क्षमा गर्न दिने योजनासहित परमेश्वर आउनुभयो ।

उहाँको पुत्र येशू ख्रीष्ट  हाम्रो सट्टा हाम्रा पापहरुका परिणामहरुको निम्ति मर्नुभयो । त्यसकारण, तपाईं आफ्ना पापहरुको निम्ति पश्चाताप गरी उहाँको अनुग्रहमा भरोसा गर्न इच्छुक हुनुहुन्छ भने परमेश्वरले तपाईंलाई क्षमा गर्न सक्‍नुहुन्छ । तर परमेश्वर मर्नु कसरी सम्भव छ र ?

येशू मृतकदेखि पुनर्जीवित हुनुभयो

बाइबलमा, येशू ख्रीष्टको सबैभन्दा ठूलो आश्चर्यकर्म बारे पढ्न सक्छौः उहाँको मृत्युको तीन दिनपछि, उहाँ फेरि पुनर्जीवित हुनुभयो । मृत्युलाई जित्ने शक्ति र अधिकार कुनै पनि साधारण मानिससित हुँदैन ।

यो सुसमाचार परमेश्‍वरका पुत्रको विषयमा हो, जसको जन्‍म शरीरअनुसार दाऊदको वंशबाट भएको थियो। येशू ख्रीष्‍ट हाम्रा प्रभु मरेकाहरूबाट पुनरुत्‍थान हुनुभएर पवित्रताको आत्‍माअनुसार शक्तिमा परमेश्‍वरका पुत्र ठहरिनुभयो। रोमी १:३-४

जीवन  र मृत्युको विषय

परमेश्वरले हाम्रा पापहरुको क्षमाको निम्ति दिनु हुने एउटा महत्त्वपूर्ण शर्त भनेको  उहाँको पुत्र येशू ख्रीष्टको मृत्यु र पुनरुत्थानद्वारा मुक्तिमा पूर्ण रुपमा विश्वास गर्नु हो ।

“किनभने परमेश्‍वरले संसारलाई यस्‍तो प्रेम गर्नुभयो, कि उहाँले आफ्‍ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्, तर त्‍यसले अनन्‍त जीवन पाओस्‌। यूहन्‍ना ३:१६

यस लेखले तपाईंलाई पढ्न र परमेश्वरले तपाईंलाई कति धेरै प्रेम गर्नुहुँदो रहेछ भन्‍ने बारेमा  थाहा पाउन प्रेरणा दिन्छ भन्‍ने मैले आशा लिएको छु ।

अथवा यदि तपाईं यस पृष्ठमा आइपुग्‍नुभएको छ भने, तपाईं  यहाँ पूरा कथा पढ्न सक्‍नुहुन्छ ।

.

येशूको जीवन
के येशू अगमवक्ताभन्दा ठूलो हुनुहुन्थ्यो ?
के परमेश्वरको पुत्र हुन सक्छ ?
के येशू साँच्चै क्रूसमा मर्नुभयो ?
के परमेश्वर मर्न सक्‍नुहुन्छ ?
के अरु नै कोही क्रूसमा मरेको थियो ?
के एउटै परमेश्वर ३ व्यक्तित्व हुन सक्‍नुहुन्छ र ?
परमेश्वरसित कुराकानी गर्ने तरिका