blank

अध्याय ८~ शुभ खबर

अहिले म दयनीय अवस्थामा रहेछु भन्ने कुरा तपाईंले महसुस गरिसक्‍नुभएको होला । हामी झूट बोल्‍छौं र धोकाबाजी गर्दछौं । हामी अनाज्ञाकारी र अविश्वसनीय छौं । हामी अरु मानिसहरुलाई चोट पुर्‍याउँछौं र परमेश्वरलाई बारबार अनादर गर्दछौं । हामी यस्तो भएकोले, धार्मिक परमेश्‍वरको हामीसित कुनै सम्बन्ध हुन सक्तैन । उहाँले हामीलाई हाम्रा कार्यको निम्ति दण्ड दिनै पर्दछ । उहाँ जुन आदर पाउन योग्य हुनुहुन्छ सो उहाँलाई दिन हामी असक्षम हुन्‍छौं । तपाईंले असल जीवन जिउन भरमग्‍दुर कोसिस गर्नु भए पनि तपाईंको बिगतका गल्तीहरुले तपाईंलाई अझै पनि चिमोटिरहेको हुन्छ ।

किनकि सबैले पाप गरेका छन्, र परमेश्‍वरको महिमासम्‍म पुग्‍नबाट चुकेका छन्‌। रोमी ३:२३

हाम्रो आदरको कमी र हाम्रा सारा खराब कुराले गर्दा, हामी परमेश्वरको सम्मुख पर्न सक्दैनौं । हामी व्यर्थका भएका छौं र आत्मिक अर्थमा हामी मृतकको रुपमा घोषणा गरिएका छौं ।

जब मानिसहरूले पाप गर्दछन्, तिनीहरूले पापको ज्याला कमाउँछन् जो चाँहि मृत्यु हो। रोमी ६:२३

अन्तमा, हाम्रो बानी-व्यहोराले मृत्युमा पुर्‍याउनेछ । पृथ्वीमा हाम्रो जीवनको अन्त्य हुन्छ । तर मृत्यु हाम्रो आत्मिक अस्तित्वको अन्त्य होइन । तर हामीले आ-आफ्नो कार्यको लेखा बुझाउनु पर्ने हुन्छ ।

तर परमेश्‍वरको धार्मिक इन्‍साफ प्रकट हुने त्‍यस क्रोधका दिनको लागि आफ्‍नो कठोर र अपश्‍चात्तापी हृदयले गर्दा तिमीले आफ्‍नो निम्‍ति क्रोध थुपारिरहेछौ। किनकि उहाँले हरेक मानिसलाई उसको कामअनुसार दिनुहुनेछ। रोमी २:५-६

मृत्यु तपाईंको व्यवहारको परिणाम  हो । यसले तपाईंको जीवनलाई तदारुकताको विषय तुल्याउँछ । तपाईंको जीवन छउन्जेल, तपाईंसित परमेश्वरसित मिलाप हुने सम्भावना रहन्छ ।

यो परमेश्वरले चाहनुभएको कुरा होइन

तपाईंको जस्तोसुकै व्यवहार भए पनि परमेश्वरले तपाईंलाई प्रेम गर्नुहुन्छ भन्‍ने कुरा लगभग अपत्यारिलो हुन्छ । मलाई लाग्छ, तपाईंलाई आफ्नो जीवन-शैलीदेखि पछुतो लागिरहेको होला । तपाईंले तपाईं र आफ्नो सृष्टिकर्ता बीचका अवस्थाहरु सुधार गर्ने समाधान भेट्टाउने चाहना गरिरहनु भएको होला ।

यदि तपाईंले यस विषयमा विचार गर्नुभयो भने, तपाईंले आफ्नै बुताले अवस्थाहरु सुधार गर्न नसकिने रहेछ भन्‍ने कुरा महसुस गर्नुहुनेछ । यदि तपाईंले आफ्ना विगतका  क्रियाकलापहरु बारे पछुतो मानिरहनु छ र यदि इमान्दार हुनुहुन्छ भने, भविष्यमा अझ धेरै भूलहरु गर्ने रहेछु भन्‍ने कुरा तपाईंले  थाहा पाउनुहुनेछ ।

परमेश्वरको मुक्तिको योजना

हामी अयोग्य छौं, तापनि परमेश्वरले मानिसहरुलाई प्रेम गरिरहनु भएको छ ।

परमेश्वरसित आदिकालदेखि नै हामी र उहाँ बीचको खाडलमा पुल लगाउने योजना थियो । त्यस योजनाले हामीप्रतिको परमेश्वरको  महान् प्रेम झल्काउँदछ ।

पहिलो, म तपाईंलाई छोटकरीमा परमेश्वरको योजना बारे बताउँछु । बाँकी अध्यायमा, अझ बढी बताउँला ।

~ परमेश्वरको मुक्तिको योजना ~ 

क्षमादानविना हाम्रो भविष्य आशारहित हुन्छ । हामीले आफ्नो सृष्टिकर्तालाई अनादर गरेका छौं । र, हामी आत्मिक रुपमा मृतक घोषित भएका छौं । हामी परमेश्वरदेखि धेरै टाढा भई अन्धकारमा जिइरहेका छौं । तर हामी त्यसरी जिउनको निम्ति परमेश्वरले हामीलाई बनाउनु भएको होइन ।

सृष्टिको प्रारम्भदेखि परमेश्वरले हामीलाई विनाशदेखि बचाउन मध्यस्थ गर्नुपर्ने थियो । त्यसैले उहाँ यस पृथ्वीमा आउनुभयो । उहाँ मानव बन्‍नुभयो । उहाँको नाउँ येशू ख्रीष्ट थियो । उहाँ परमेश्वरको पुत्र (प्रतिनिधि) पनि कहलिनुभयो । उहाँ मात्रै पापरहित जिउने र परमेश्वरलाई कहिल्यै अनादर नगर्ने एकमात्रै व्यक्ति हुनुहुन्छ । उहाँले त्यसो गर्न सक्नुभयो, किनकि उहाँ स्वयम परमेश्वर हुनुहुन्थ्यो ।

उहाँको मुक्तिको योजना महान् र प्रेमपूर्ण दुवै छ । उहाँ सेवा लिन पृथ्वीमा आउनुभएन । उहाँ हाम्रा अभद्र र अनादर गर्ने क्रियाकलापको निम्ति हामीलाई दण्ड दिनु आउनुभएन ।

उहाँ त हामीप्रति आफ्नो महान् प्रेम प्रकट गर्न आउनुभयो । हामी योग्य भएकाले त होइन, तर उहाँ प्रेमिलो र हाम्रो दुःखमा सहभागी हुनु भएकोले उहाँ हाम्रो निम्ति आउनुभयो ।

उहाँले आफूलाई मानव जातिबाट अपमानित हुन र अझै भन्‍नुपर्दा आफूलाई क्रूसमा टाँगेर मार्न दिनुभयो । क्रूसमा उहाँले असह्य शारीरिक पीडा मात्रै भोग्‍नुभएन, तर परमेश्वरको क्रोध र न्याय पनि सहनुभयो । उहाँले हाम्रो दण्ड भोगिदिनुभयो । क्रूसमा उहाँले परमेश्वरबाट त्यागिनुको पीडा अनुभव गर्नुभयो ।

मृत्युभन्दा महान् र सामर्थ्यशाली प्रमाणित गर्नको निम्ति, उहाँ तीन दिनपछि चिहानबाट बौरी उठ्नुभयो । उहाँले त्यसरी मृत्युलाई शक्तिहीन तुल्याउनुभयो । परमेश्वरको सम्मान पुनर्स्थापित भयो ।

यो नै परमेश्वरको हामीप्रतिको महान् उपहार हो । आफ्नो पुत्र येशू ख्रीष्टको मृत्यु र पुनरुत्थानद्वारा, हाम्रा सारा पापहरु क्षमा भएका र हटाइएकका छन् । यदि तपाईंले येशू ख्रीष्ट मेरो निम्ति मर्नुभयो र पुनरुत्थान हुनुभयो भनी विश्वास गर्नुभयो भने, तपाईं आफ्ना सारा फोहोर वा पापदेखि शुद्द तुल्याइनुहुनेछ । तपाईंले परमेश्वरको कृपा पाउनुहुनेछ, त्यहाँदेखि उसो तपाईं पापको दोषी हुनुहुन्‍न र तपाईं धर्मी मानिसको रुपमा घोषित हुनुहुनेछ ।

यदि तपाईंले आफ्ना पापहरु, आफ्नो अपराध, र तपाईंले आफ्नो सृष्टिकर्ता परमेश्वरलाई गर्नुभएका अनादरका कुराहरु बारे पश्चाताप गर्नुभयो भने, तपाईंले उद्दार पाउन सक्नुहुन्छ । यदि तपाईंले उहाँको पुत्र येशू ख्रीष्टद्वारा परमेश्वरको पाप क्षमाको उपहार ग्रहण गर्नुभएमा,तपाईं येशूद्वारा पापको दोष र मृत्युदेखि स्वतन्त्र हुनुहुनेछ । तपाईं आफ्नो सारा अधर्मदेखि शुद्द हुनुहुनेछ ।

आत्मिक रुपमा, तपाईं उहाँसितै मर्नुहुनेछ र नयाँ गरी जन्मनुहुनेछ । तपाईंले नयाँ (आत्मिक ) जीवन पाउनु हुनेछ । तपाईं सदासर्वदा परमेश्वरसित र उहाँकै निम्ति जिउन सक्नुहुनेछ । उहाँको सहायताले, तपाईं हृदयदेखि नै उहाँको सेवा गर्न सक्षम हुनुहुनेछ । तपाईंलाई उहाँको इच्छाअनुसार जिउन सहायता गर्नुहुनेछ । उहाँको प्रेमबाट, तपाईं आफ्नो वरिपरिका मानिसहरुलाई उहाँलेजस्तै सेवा गर्न सक्नुहुनेछ ।

तपाईंले परमेश्वरको सन्तान कहलाइने सम्मान समेत पाउनुहुनेछ । तपाईंले अनन्त जीवन प्राप्त गर्नुहुनेछ । भविष्यमा, तपाईं उहाँसित स्वर्गमा बास गर्न सक्नुहुनेछ । अहिले यस जीवनमा उहाँ तपाईंसित आफ्नो पवित्र आत्मासित बास गर्नुहुनेछ ।

तर यदि तपाईंले येशू ख्रीष्टद्वारा परमेश्वरले दिन चाहनु भएको उपहार तपाईंले अस्वीकार गर्नुभएमा, तपाईंले आफ्नो कर्म र तपाईंको अनाज्ञाकारिताका परिणामहरु भोग्‍नुपर्दछ ।

यो छोटो सारांशले धेरै प्रश्‍नहरु उब्जाउँछ भन्‍ने म कल्पना गर्न सक्छु । त्यसैले म  तपाईंलाई परमेश्वरको मुक्तिको योजना बारे बेलीविस्तार लगाउन चाहन्छु  ।

सुरुमा के भयो ? 

मानिसले आफ्नै इच्छाले आफ्नो सृष्टिकर्ताको अनाज्ञाकारी हुन रोजेको हुनाले ऊ फेरि परमेश्वरको नजिक कहिल्यै आउन सक्तैनथ्यो भन्‍ने कुरा सृष्टिको प्रारम्भदेखि स्पष्ट थियो । हामी आत्मिक अन्धकारमा बस्‍न अभिशप्त भयौं ।

बाइबलमा मुक्तिदाताको आगमन घोषणा गरिएको इतिहासबाट थाहा पाउनेछौं  । सृष्टिको केही समयदेखि लगभग २,००० वर्ष अघिसम्‍म,मानिसलाई पापदेखि छुटकारा गर्न मुक्तिदाता आउनु हुनेछ भनेर भविष्यवाणीहरु गरिएका थिए । मुक्तिदाता मसिह कहलाइनुभयो (अर्थ अभिषिक्त, वा राजा) । (1)

परमेश्वर पृथ्वीमा आउँदै हुनुहुन्थ्यो ?

हामी अगाडि बढ्नुअघि, मलाई लाग्छ, मैले अलिकति बताउनु आवश्यक हुन्छ होला । परमेश्वर, महान् सृष्टिकर्ता पृथ्वीमा आउनुभयो भनेर पढ्दै गर्दा तपाईंलाई साँचो नलाग्‍ला  । तर बाइबलमा प्रेरित यूहन्‍नाले यसरी वर्णन गरेका छन् :

अनि वचन देहधारी हुनुभयो, र अनुग्रह र सत्‍यताले पूर्ण भई हाम्रा बीचमा वास गर्नुभयो। हामीले उहाँको महिमा देख्‍यौं, जुन महिमा पिताबाट आउनुभएको एकमात्र पुत्रको जस्‍तो थियो। यूहन्‍ना १:१,१४

हामी मानवको हकमा महान् सृष्टिकर्ता मानव बन्‍नुभयो भन्‍ने  कुरा लगभग अपत्यारिलो हुन्छ । यो कुरा अलिकति बुझ्‍न सक्षम हुनको निम्ति, तपाईंले सबैभन्दा पहिला परमेश्वरको बारे अझ बढी जान्‍नुपर्दछ । एक मात्र परमेश्वर हुनुहुन्छ । तर बाइबालमा पिता परमेश्वर, पुत्र परमेश्वर र पवित्र आत्मा परमेश्वर बारे पढ्न पाउनुहुन्छ । उहाँहरु तीन अलग-अलग व्यक्तित्वहरु हुनुहुन्छ, तर समग्रमा उहाँहरु एक परमेश्वर हुनुहुन्छ । यो हाम्रो समझबाहिरको कुरा हो, किनभने मानव जगतमा यो कुरालाई तुलना गर्ने चीज केही पनि छैन  ।

blank

कतिपय व्यक्तिहरुले यस उदाहरणलाई पानीसित तुलना गर्ने कोसिस गर्दछन् ।  पानी बाफ, तरल वा जमेमा बरफ (ठोस) हुन सक्छ।  तीन पाते झार अर्को उदाहरण हो । यसमा मसिना तीन पातहरु हुन्छन् तर आखिरीमा त्यो एउटै पात हो । तर तपाईंले जेसित तुलना गर्न कोसिस गरे तापनि कुनै पनि चीजले परमेश्वरको विशेषता बारे साँच्चिकै वर्णन गर्न सक्तैन ।

‘परमेश्वरको पुत्र’ नाउँले येशू ख्रीष्टको ईशरत्व बारे सङ्केत गर्दछ । उहाँलाई वचन पनि भनिन्छ । यो कुराले परमेश्वर बोल्नु हुँदा संसारको रचना भएको कुरा देखाउँदछ । 

हाम्रो हकमा परमेश्वरको प्रकृतिका पक्षहरु बुझ्‍नु  सबैभन्दा कठिन कुराहरुमध्ये यो एक हो । यदि तपाईंले अझै धेरै जान्‍न चाहनुहुन्छ भने, तपाईंले के परमेश्वरको पुत्र हुन सक्छ ? र के परमेश्वर एकमा तीन हुन सक्नुहुन्छ नामक लेखहरु पढ्न सक्नुहुन्छ (यो पृष्ठको अन्तमा लिङ्क दिइएको छ ।)

उहाँ बालकको रुपमा आउनुभयो

मुक्तिदाताको आगमन बारे संसारको प्रारम्भदेखि नै भविष्यवाणी गरिएको थियो । उहाँ बालकको रुपमा जन्मनुभयो  । उहाँ साधारण बालक हुनुहुन्‍नथ्यो।

येशू ख्रीष्‍टको जन्‍म यस प्रकारले भयो: उहाँकी आमा मरियमको मगनी योसेफसँग भएको थियो, तर उनीहरूको विवाह हुन अघि मरियम पवित्र आत्‍माद्वारा गर्भवती भएकी थाहा भयो। मत्ती १:१८

परमेश्वरको आत्माले मरियमलाई गर्भवती तुल्याउनुभयो । उनी कन्या थिइन्, तर परमेश्वरको आत्माले उनलाई गर्भमा बालक हुन दिनुभयो । उनको बालक पूर्ण रुपमा मानव मात्रै होइन, तर पूर्ण रुपमा परमेश्वर हुनुहुन्थ्यो । उहाँको नाउँ येशू राखिनु पर्दथ्यो, जसको अर्थ “मुक्तिदाता” हो ।

बालक बुद्धिले भरिपूर्ण भएर बढ्‌दै र बलियो हुँदैजानुभयो, र परमेश्‍वरको अनुग्रह उहाँमाथि थियो। लूका २:४०

अनि येशू बुद्धिमा, कदमा र परमेश्‍वर र मानिसहरूको अनुग्रहमा बढ्‌दैजानुभयो। लूका २:५२

येशू र अन्य बालालिका बीचको प्रमुख भिन्‍नता भनेको येशूले कहिल्यै पाप गर्नुभएन ।

एक जना प्रत्यक्ष साक्षी पत्रुसले उहाँको बारेमा यसरी वर्णन गरेका छन् :

“उहाँले कुनै पाप गर्नुभएन, र उहाँको मुखमा कुनै छलको कुरा पाइएन।” तिनीहरूले उहाँलाई अपमान गर्दा उहाँले साटो फेर्नुभएन। दुःख भोग्‍नुहुँदा उहाँले धम्‍की दिनुभएन। तर उचित न्‍याय गर्नुहुनेमाथि उहाँले भरोसा राख्‍नुभयो। १ पत्रुस २:२२-२३

येशू ख्रीष्टको सन्देश

येशूले लगभग आफू तीस वर्ष हुँदा आफ्नो सार्वजनिक सेवकाइ सुरु गर्नुभयो । (2) तीन वर्षको छोटो अवधिमा, येशू वरपर यात्रा गर्नुभयो र मानिसहरुलाई सिकाउनुभयो । उहाँको सन्देश स्पष्ट थियोः आफ्नो पापी, स्वार्थपूर्ण जीवनदेखि पश्चाताप गर र  परमेश्वरमा फर्क ।

त्‍यस बेलादेखि प्रचार गर्दै येशूले भन्‍न लाग्‍नुभयो, “पश्‍चात्ताप गर, किनभने स्‍वर्गको राज्‍य नजिक आइपुगेको छ।” मत्ती ४:१७

निश्चित नियमहरु र परम्पराहरु अनुसार जिएर परमेश्वरको सेवा गरिनु हुँदैन भनेर पनि उहाँके स्पष्ट पार्नुभयो  । तपाईंले सही दृष्टिकोणले, साँचो हृदयले परमेश्वरको सेवा गर्नुचाहिँ महत्त्वपूर्ण हुन्छ । येशूले धार्मिक अगुवाहरुलाई आ-आफ्ना ढोङ्गी व्यवहार बारे जवाफदेही हुन भन्‍नुभयो ।

ढोंगी हो, यशैयाले तिमीहरूका विषयमा ठीकै अगमवाणी बोले, ‘यस जातिले मलाई ओठले मात्र आदर गर्छ, तर तिनीहरूको हृदय मबाट टाढ़ा छ। तिनीहरू व्‍यर्थमा मेरो उपासना गर्दछन्, तर तिनीहरूका शिक्षा मानिसहरूले सिकाएका विधि मात्र हुन्‌’।” मत्ती १५ : ७-९

आफ्नो जीवन कालमा उहाँले धेरैवटा आश्चर्यकर्महरु गर्नुभयो र अन्धोपन, कुष्ठरोग र अन्य किसिमका रोगहरु भएका मानिसहरुलाई निको पार्नुभयो (3)। तापनि, उहाँ नै उहिलेदेखि प्रतिज्ञा गरिएको मुक्तिदाता हुनुहुन्छ भनी विश्वास गर्न नचाहने मानिसहरु धेरै थिए  (4)। तर उहाँले मानिसहरुलाई दिनुभएको चेतावनी स्पष्ट थियो :

त्‍यसो होइन, तर म तिमीहरूलाई भन्‍दछु, तिमीहरूले पश्‍चात्ताप गरेनौ भने, तिमीहरू सबै त्‍यसरी नै नाश हुनेछौ।” लूका १३:५ख

उहाँले चेलाहरुको झुण्ड जम्मा गर्नुभयो । उहाँले चेलाहरुलाई परमेश्वरको राज्य बारेमा र परमेश्वरको नजरमा  जे महत्त्वपूर्ण छ सो बारे अर्थात उहाँ परमेश्वरको पुत्र र संसारको मुक्तिदाता हुनुहुन्छ भनी विश्वास गर्नु बारे सिकाउनुभयो । त्यसकारण,  हामीले परमेश्वरलाई प्रेम गर्नुपर्दछ, उहाँको निम्ति जिउनु पर्दछ, र आफ्ना छिमेकीहरुलाई आफूलाई जस्तै प्रेम गर्नुपर्दछ  ।

तिनीहरूले उहाँलाई भने, “परमेश्‍वरले चाहनुभएको काम गर्नलाई हामीले के गर्नुपर्छ?” येशूले तिनीहरूलाई भन्‍नुभयो, “परमेश्‍वरको काम यही हो: जसलाई उहाँले पठाउनुभयो उसमाथि विश्‍वास गर।” यूहन्‍ना ६:२८-२९

येशूले तिनलाई भन्‍नुभयो, “बाटो, सत्‍य र जीवन म नै हुँ। मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्‍दैन। यूहन्‍ना १४:६

उहाँले तिनलाई भन्‍नुभयो, “तैंले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई आफ्‍नो सारा हृदयले, र आफ्‍नो सारा प्राणले, र आफ्‍नो सारा समझले प्रेम गर्नू। महान्‌ र प्रथम आज्ञा यही हो। दोस्रो पनि त्‍यस्‍तै छ, तैंले आफ्‍नो छिमेकीलाई आफैलाई जस्‍तै प्रेम गर्नू। मत्ती २२:३७-३९

तर पहिले उहाँको राज्‍य र उहाँका धार्मिकताको खोजी गर, र यी सबै थोक तिमीहरूका निम्‍ति थपिनेछन्‌। मत्ती ६:३३

उहाँको आज्ञा

येशू हामीलाई हकार्न  आउनुभएन । उहाँ महान् र पराक्रमी सृष्टिकर्ताको रुपमा सेवा लिन पनि आउनुभएन । उहाँ त हामीलाई उद्दार गर्न आउनुभयो।

किनकि परमेश्‍वरले संसारलाई दोषी ठहराउन भनी पुत्रलाई संसारमा पठाउनुभएन, तर संसार उहाँद्वारा बाँचोस्‌ भनेर पठाउनुभयो। यूहन्‍ना ३:१७

येशू हामीलाई हाम्रा (आत्मिक) मृत्युदेखि बचाउन आउनुभयो । उहाँ परमेश्वर र हामी बीचको सम्बन्ध पुनर्स्थापित गर्न आउनुभयो । उहाँ हाम्रा पाप क्षमा संभव तुल्याउन आउनुभयो ।

हाम्रा परमेश्‍वर र पिताको इच्‍छाअनुसार उहाँले यस वर्तमान दुष्‍ट युगबाट हामीलाई छुटकारा दिनलाई हाम्रा पापका निम्‍ति आफैलाई अर्पण गर्नुभयो। परमेश्‍वरलाई सदासर्वदा महिमा भइरहोस्‌। आमेन। गलाती १:४-५

यो योजना पूरा गर्न सक्षम हुनको निम्ति, उहाँले हाम्रो पापको दण्ड रद्द गर्नु पर्दथ्यो । हामी मृत्यु  दण्डको योग्य छौं किनकि हामी हाम्रो व्यवहार र कार्यले परमेश्वरलाई अनादर गरिरहन्छौं । हाम्रो निम्ति मर्नुभई,  येशूले आफैमा दण्ड बोक्नुभयो । उहाँ हाम्रो साटो मर्नुभएकोले, परमेश्वरद्वारा हामी धर्मी जनको रुपमा घोषित हुन सक्छौं ।

उहाँको दु:ख-कष्ट र मृत्यु

येशूआफू संसारमा आउनुको कारण ठ्याक्कै जान्‍नुहुन्थ्यो । उहाँलाई आफूले भोग्‍नु पर्ने कुरा थाहा भएकोले आफ्ना चेलाहरुलाई सो कुरा बताउनुभयो :

उहाँ कसरी यरूशलेममा जानुपर्छ, र धर्म-गुरु र मुख्‍य पूजाहारीहरू र शास्‍त्रीहरूबाट धेरै कष्‍ट भोग्‍नुपर्छ, मारिनुपर्छ र तेस्रो दिनमा जीवित भइउठ्‌नुपर्छ भनी उहाँले त्‍यस बेलादेखि आफ्‍ना चेलाहरूलाई बताउन थाल्‍नुभयो। मत्ती १६:२१

केही समयपछि नै यो भविष्यवाणी पूरा हुनआयो । धार्मिक अगुवाहरु उहाँदेखि आजित भए । उनीहरुले आफ्नो सम्मान र शक्ति खतरामा रहेको महसुस गरे र उहाँलाई हटाउने उपाय खोजे । उनीहरुले उहाँलाई समातेर प्रधान पूजाहारी (त्यस समयका आध्यात्मिक अगुवा) कहाँ लिएर गए । उहाँलाई धेरैवटा झूटा आरोपहरु लगाइयो, तर अन्तमा उहाँको विरुद्दमा केही पनि दोष फेला परेनन् ।

तर येशू चूप लाग्‍नुभयो, र केही जवाफ दिनुभएन। फेरि प्रधान पूजाहारीले उहाँलाई सोधे, “के तँ परमधन्‍यको पुत्र ख्रीष्‍ट होस्‌?” येशूले भन्‍नुभयो, “म हुँ, अनि तपाईंहरूले मानिसको पुत्रलाई सर्वशक्तिमान्‌को दाहिने बाहुलीतर्फ बसिरहेको र आकाशका बादलहरूका साथमा आइरहेको देख्‍नुहुनेछ।” मर्कूस १४:६१-६२

यो कुरा महसुस नगरीकन, उनीहरुले उहाँको वास्तविक पहिचानको आधारमा उहाँलाई मृत्युदण्ड दिए ।

देश रोमीहरुले शासन गरेका हुनाले, येशूलाई मृत्यदण्ड दिनको निम्ति धार्मिक अगुवाहरुले रोमी शासकसित अनुमति माग्‍नु पर्दथ्यो ।

येशू हाकिमको सामु उभिनुभयो, र तिनले येशूलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” येशूले भन्‍नुभयो, “तपाईं नै त्‍यसो भन्‍नुहुन्‍छ।” अनि मुख्‍य पूजाहारीहरू र धर्म-गुरुहरूले उहाँमाथि दोष लगाए, तर उहाँले केही जवाफ दिनुभएन। मत्ती २७:११-१२

शासक पिलातसले येशूलाई मृत्यदण्ड दिन सक्ने कुनै दोषहरु फेला पार्न सकेनन्,तर उनीसँगै आएको ठूलो भीड देखेर उनी असाध्यै डराए,

पिलातसले फेरि तिनीहरूलाई सोधे, “त्‍यसो भए जसलाई तिमीहरू यहूदीहरूका राजा भन्‍छौ, उसलाई चाहिँ म के गरूँ त?” तिनीहरू फेरि चिच्‍च्‍याए, “त्‍यसलाई क्रूसमा टाँग्‍नुहोस्‌।” पिलातसले तिनीहरूलाई भने, “किन? उसले के अपराध गरेको छ र?” तर झन्‌ साह्रो गरी चिच्‍च्‍याएर तिनीहरूले भने, “त्‍यसलाई क्रूसमा टाँग्‍नुहोस्‌।” मर्कूस १५:१२-१४

तर केही सीप नलागेको देखेर, बरु खैलाबैला मच्‍चिन्‍छ भन्‍ने डरले पिलातसले पानी लिई भीड़को सामु आफ्‍ना हात धोएर भने, “तिमीहरू आफै जान, म यस मानिसको रगतदेखि निर्दोष छु।” मत्ती २७:२४

धार्मिक अगुवाहरुले येशूलाई डाँडामा लिएर गए,  जहाँ उहाँलाई क्रूसमा काँटी ठोके । क्रूस भनेको मृत्यु दण्ड दिने सबैभन्दा भयानक र अपमानजक तरिकाहरुमध्ये एक हो । येशूले प्रतिरोधविना अपमान र पीडा सहनुभयो, किनकि त्यो परमेश्वरको योजना थियो ।

तर उहाँले अपमान र शारीरिक पीडा मात्रै सहनुभएन । उहाँले हाम्रा पापहरुको निम्ति क्रूसमा परमेश्वरको दण्ड भोग्‍नुभयो । परमेश्वरको क्रोध उहाँमाथि खन्याइयो ।  मानिसको रुपमा, उहाँले परमेश्वरद्वारा परित्याग गरिएको अनुभव गर्नुभयो । त्यो दण्ड हाम्रो पापमय व्यवहारको निम्ति हामीले पाउनु पर्ने  दण्ड थियो  ।

बाह्र बजेदेखि तीन बजेसम्‍म सारा देशलाई अन्‍धकारले छोप्‍यो। तीन बजेतिर यसो भनेर येशू ठूलो सोरले कराउनुभयो, “इलोई, इलोई, लामा सबखथनी?”— जसको अर्थ हो, “हे मेरा परमेश्‍वर, हे मेरा परमेश्‍वर, तपाईंले मलाई किन त्‍याग्‍नुभएको छ?” मर्कूस १५:३३-३४

जब उहाँ क्रूसमा मर्नुभयो, जब उहाँको रगत बग्‍यो, उहाँले हाम्रा पापहरुको खातिर पूरा मूल्य तिर्नुभयो ।

उहाँले आफ्नो आत्मा त्यागेपछि मर्नुभयो । उहाँको क्रूसीकरण हेर्ने एक जना रोमी सिपाहीले उहाँ मर्नुभयो कि भएन भनी सुनिश्चित गर्न येशूको कोखामा भाला रोपे । येशूका मित्रहरुले येशूलाई दफन गर्न पाऊँ भनी अनुरोध गरे, उहाँलाई चट्टानमा खोपिएको चिहानमा राखियो ।

येशू के साँच्चिकै मर्नुभएको थियो ? नामक लेखमा यो विषय बारे थप पढ्नुहोस् । क्रूसमा टाँगिएको व्यक्ति साँच्चै येशू  नै हुनुहुन्थ्यो त ?  तर क्रूसमा मरेर हामीलाई परमेश्वरले कति धेरै प्रेम गर्नुहुँदो रहेछ भन्‍ने कुरा पनि येशूले प्रदर्शन गर्नुभयो ।

येशूका मित्रहरुले उहाँलाई दफन गर्न मागे अनि चट्टानी चिहानमा उहाँलाई राखे  ।

blank

उहाँको पुनरुत्थान

तर येशूको मृत्यु अन्त्य थिएन । परमेश्वरले मृत्युभन्दा उहाँ झन शक्तिशाली हुनुहुन्छ भन्‍ने कुरा देखाउनुभयो । तीन दिनपछि येशू चिहानबाट बौरी उठनुभयो र आफ्ना चेलाहरु र मानिसहरुको ठूलो भीडकहाँ देखा पर्नुभयो । (5)

आफ्‍नो दुःख-भोगपछि धेरै अकाट्य प्रमाणद्वारा तिनीहरूका सम्‍मुख उहाँले आफैलाई जीवित प्रस्‍तुत गर्नुभयो। चालीस दिनसम्‍म उहाँ तिनीहरूकहाँ देखा पर्नुभयो अनि परमेश्‍वरका राज्‍यको विषयमा तिनीहरूलाई बताउनुभयो। प्रेरित १:३

आफ्नो मृत्यु र पुनरुत्थानद्वारा येशूले हाम्रो निम्ति नयाँ जीवन संभव तुल्याउनुभयो । यदि हामी उहाँको मुक्तिको योजनामा विश्वास गर्दछौं भने, भन्‍नैपर्दा, हामी उहाँसित आत्मिक रुपमा मरेका र नयाँ गरी जन्मेका हुनेछौं । उहाँले हाम्रा पापको दण्ड भोग्‍नुभएकोले हामीले नयाँ जीवन पाउनेछौं  । हामी फेरि परमेश्वरको सम्मुख पर्न सक्छौं ।

येशूले तिनलाई भन्‍नुभयो, “पुनरुत्‍थान र जीवन म नै हुँ। मलाई विश्‍वास गर्ने मर्‍यो भने पनि जीवित हुनेछ। अनि जिउने र ममाथि विश्‍वास गर्ने प्रत्‍येक कहिल्‍यै मर्नेछैन। के तिमी यो विश्‍वास गर्‍छ्यौ?” यूहन्ना ११:२५-२६

हाम्रो शारीरिक मृत्यु अन्त्य होइन । यो त परमेश्वरसितको अनन्त जीवनको सुरुवात भएको हो ।

येशू नै ख्रीष्‍ट हुनुहुन्‍छ भनी विश्‍वास गर्ने हरेक परमेश्‍वरको बालक हो। जसले बाबुलाई प्रेम गर्छ उसले तिनको छोरालाई पनि प्रेम गर्छ। १ यूहन्ना ५:१

“किनभने परमेश्‍वरले संसारलाई यस्‍तो प्रेम गर्नुभयो, कि उहाँले आफ्‍ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्, तर त्‍यसले अनन्‍त जीवन पाओस्‌। यूहन्ना ३:१६

मृतकदेखि पुनरुत्थान भएपछि, येशू आफ्ना चेलाहरुकहाँ धेरै पटक देखा पर्नुभयो । आफ्ना चेलाहरुका उपस्थितिमा उहाँ आफ्नो पिताकहाँ स्वर्गमा फर्केर जानुभयो ।

उहाँले यो कुरा भन्‍नुभएपछि, तिनीहरूले हेर्दाहेर्दै उहाँ उँभो उचालिनुभयो, र बादलमा उहाँ तिनीहरूका दृष्‍टिबाट लोप हुनुभयो। जब तिनीहरूले उहाँ जाँदैगर्नुभएको एकटक आकाशतिर हेरिरहेका थिए, तब अचानक सेतो पोशाक लाएका दुई जना मानिस तिनीहरूका नजिक खड़ा भए। तिनीहरूले भने, “गालीलका मानिस हो, तिमीहरू किन आकाशतिर हेर्दै उभिरहेका छौ? यही येशू, जो तिमीहरूबाट स्‍वर्गमा लगिनुभयो, अहिले जसरी तिमीहरूले उहाँलाई स्‍वर्गमा जानुभएको देख्‍यौ, त्‍यसरी नै उहाँ फेरि आउनुहुनेछ।” प्रेरित १:९-११

blank

हाम्रो भविष्य

हामी हाम्रा दण्डदेखि मुक्त भएका छौं र परमेश्वरसितको सम्बन्ध पुनर्स्थापित गर्न सकिन्छ । 

येशू ख्रीष्‍टमा विश्‍वास गर्ने सबैमाथि परमेश्‍वरको धार्मिकता विश्‍वासद्वारा प्रकट भएको छ। किनभने केही भेद छैन रोमी ३:२२

यदि हामी आफ्नो पाप र व्यवहार सम्बन्धी पश्चताप गर्दछौं र उहाँको क्षमाआर्थिक सहयोगग्रहण गर्दछौं भने, हामी नयाँ (आत्मिक) जीवन सुरुवात गर्न सक्छौं ।आत्मिक अर्थमा, हामीले नयाँ

येशूले तिनलाई जवाफ दिनुभयो, “साँच्‍चै म तिमीलाई भन्‍दछु, कोही नयाँ गरी जन्‍मेन भने उसले परमेश्‍वरको राज्‍य देख्‍न सक्‍दैन।” यूहन्ना ३:३

तिनीहरू रगतद्वारा, शारीरिक इच्‍छाद्वारा, र कुनै मान्‍छेको इच्‍छाद्वारा होइन तर परमेश्‍वरबाट जन्‍मिएका हुन्‍छन्‌। यूहन्ना १:१३

हामी नमरुन्जेल पृथ्वीमा मानव भएर जिउनेछौं ।  तर हाम्रो मृत्युपछि हाम्रो निम्ति सुन्दर भविष्यले हामीलाई पर्खिरहेको हुन्छ ।

मेरा पिताको घरमा बस्‍ने ठाउँहरू धेरै छन्‌। त्‍यसो नभए, के म तिमीहरूलाई भन्‍नेथिएँ र, कि तिमीहरूका निम्‍ति ठाउँ तयार पार्न म गइरहेछु? अनि गएर मैले तिमीहरूका निम्‍ति ठाउँ तयार पारेपछि म फेरि आउनेछु, र तिमीहरूलाई मकहाँ लैजानेछु, र जहाँ म छु, त्‍यहाँ तिमीहरू पनि हुनेछौ। यूहन्ना १४:२-३

हामीभित्र वास गर्नुहुने परमेश्वर

“जब सल्‍लाहकार आउनुहुन्‍छ, जसलाई म पिताको तर्फबाट तिमीहरूकहाँ पठाइदिनेछु, अर्थात्‌ सत्‍यका आत्‍मा, जो पिताबाट आउनुहुन्‍छ, उहाँले नै मेरो विषयमा गवाही दिनुहुनेछ। यूहन्ना १५:२६

यदि तपाईंले येशू ख्रीष्टमा विश्वास गर्नुभयो र उहाँको क्षमाआर्थिक सहयोगस्वीकार गर्नुभयो भने, परमेश्वरको पवित्र आत्मा तपाईंको हृदयमा वास गर्न आउनुहुनेछ र उहाँले तपाईंलाई परमेश्वरको इच्छाअनुसार जिउन सहायता गर्नुहुनेछ ।

न्याय

तर यस शुभ खबरको अर्को पक्ष पनि छ । एक दिन येशू मानिसका कार्य र व्यवहारको आधारमा सारा मानिसहरुलाई न्याय गर्न पृथ्वीमा फेरि आउनुहुनेछ । परमेश्वरले कुनै पनि पापलाई बेवास्ता गर्न सक्नुहुन्‍न ।

अनि राज्‍यको यो सुसमाचार सारा संसारमा सबै जातिहरूका लागि गवाहीको निम्‍ति प्रचार गरिनेछ, त्‍यसपछि अन्‍त्‍य आउनेछ। मत्ती २४:१४

तपाईंले येशूले दिनुहुने जीवनरक्षक डोरी समात्‍नु भएन भने कोही पनि खडा हुन सक्तैन भन्‍ने कुरा हामीले पहिले नै हेरिसकेका छौं ।

जसले पुत्रमाथि विश्‍वास गर्छ, त्‍यससित अनन्‍त जीवन छ। जसले पुत्रको आज्ञापालन गर्दैन, त्‍यसले जीवन देख्‍नेछैन, तर परमेश्‍वरको क्रोध त्‍यसमाथि रहिरहन्‍छ।” यूहन्ना ३:३६

उहाँको मुक्तिको योजना ग्रहण गर्न इन्कार गर्ने हरेक व्यक्तिले आफ्नो पाप र स्वार्थपूर्ण व्यवहारको निम्ति दण्ड भोग्‍नु पर्दछ ।

किनकि जसले आफ्‍नो प्राण बचाउन चाहन्‍छ, उसले त्‍यो गुमाउनेछ, तर जसले आफ्‍नो प्राण मेरो निम्‍ति गुमाउँछ, त्‍यसले त्‍यो पाउनेछ। सारा जगत्‌ प्राप्‍त गरेर पनि आफ्‍नो प्राण गुमायो भने, मानिसलाई के लाभ हुन्‍छ? अथवा मानिसले आफ्‍नो प्राणको सट्टामा के दिन सक्‍छ? किनकि मानिसको पुत्र आफ्‍ना पिताको महिमामा आफ्‍ना स्‍वर्गदूतहरूसँग आउनेछ, र त्‍यस बेला उसले हरेक मानिसलाई त्‍यसको कामअनुसार प्रतिफल दिनेछ। मत्ती १६:२५-२७

धर्मी र पवित्र परमेश्वरले उहाँको पुत्रद्वारा प्रआर्थिक सहयोगगरिएको मुक्तिमा विश्वास गर्न नचाहनेहरुलाई अनन्त मृत्युको दण्ड दिनुपर्दछ । बाइबलले नरकलाई दारा किटाइ, आँशु र पीडा, अग्‍निकुण्डको स्थानको रुपमा वर्णन गर्दछ । म आशा गर्दछु, तपाईंले बेलैमा पश्चाताप गर्नहुनेछ र परमेश्वरको प्रेमपूर्ण क्षमाआर्थिक सहयोगग्रहण गर्नुहुनेछ। (6)

तपाईंको कदम

जसले उहाँमाथि विश्‍वास गर्छ, त्‍यो दोषी ठहरिँदैन, तर विश्‍वास नगर्नेचाहिँ अघि नै दोषी ठहरिएको छ, किनभने उसले परमेश्‍वरका एकमात्र पुत्रको नाउँमा विश्‍वास गरेको छैन। फैसलाचाहिँ यही हो: ज्‍योति संसारमा आएको छ, र मानिसहरूले ज्‍योतिभन्‍दा बरु अन्‍धकारलाई रुचाए, किनकि तिनीहरूका काम दुष्‍ट थिए। यूहन्ना ३:१८-१९

म आशा गर्दछु, येशू ख्रीष्ट, परमेश्वरको पुत्र, येशू ख्रीष्टको शुभ खबरले तपाईंलाई सोच्‍न बाध्य तुल्याएको छ ।

क्रूसमा मृत्यु भोगेर, येशूले परमेश्वरको दया र प्रेम प्रकट गर्नुभयो । उहाँले  हामीलाई पश्चताप गर्न भनिरहनु भएको छ । उहाँ तपाईं र मेरो  निम्ति साधारण मानिसको रुपमा मर्नुभएको भए, हाम्रा पापहरु पश्चाताप गर्नु पर्ने कारण हुनेथिएन । तर परमेश्वरले पापको समस्या समाधान गर्न आफ्नो पुत्र पठाउनुभयो । परमेश्वरले तपाईंलाई  कति धेरै प्रेम गर्नुहुँदोरहेछ थाहा पाउनु भयो नि ?

यस अध्यायमा, मैले परमेश्वरको उदेकको योजना बारे बताउने कोसिस गरें  । मलाई लाग्छ, तपाईंका प्रश्‍नहरु अझै छन्। यस पृष्ठको तल लेखहरुमा धेरैवटा प्रश्‍नहरु सम्बोधन गरिएका छन् । तपाईंले च्याट (यदि तपाईंको देशमा उपलब्ध छ भने) मार्फत पनि आफ्ना प्रश्‍नहरु राख्‍न सक्नुहुनेछ ।

मलाई आशा छ, तपाईंप्रति परमेश्वरको प्रेम असीमित छ भन्‍ने कुरा स्पष्ट भइसकेको छ । उहाँले तपाईंलाई अति धेरै प्रेम गर्नुहुन्छ । त्ससैले, उहाँले आफ्नो पुत्र येशू ख्रीष्टद्वारा मानिस बनेर आफूलाई होच्याउनुभयो । उहाँले आफूलाई दुःख भोग्‍न र क्रूसमा टाँगिन दिनुभई तपाईंका निम्ति दण्ड भोग्‍न क्रूसमा मर्नुभयो । उहाँले तपाईं र मेरो निम्ति प्रेमले गर्दा यसो गर्नुभयो, किनभने उहाँ आफूसितको हाम्रो मित्रता पुनर्स्थापना गर्न चाहनुहुन्छ । (7)

म तपाईंलाई अर्को अध्याय पढ्न आग्रह गर्न चाहन्छु । त्यहाँ तपाईंलाई तपाईंको जीवनको अत्यन्तै महत्त्वपूर्ण निर्णय गर्न अनुरोध गरिएको  हुनेछ ।

.

येशूको जीवन
के येशू अगमवक्ताभन्दा ठूलो हुनुहुन्थ्यो ?
के परमेश्वरको पुत्र हुन सक्छ ?
के येशू साँच्चै क्रूसमा मर्नुभयो ?
के परमेश्वर मर्न सक्‍नुहुन्छ ?
के अरु नै कोही क्रूसमा मरेको थियो ?
के एउटै परमेश्वर ३ व्यक्तित्व हुन सक्‍नुहुन्छ र ?
परमेश्वरसित कुराकानी गर्ने तरिका
बाइबल कसले लेखेको हो ?

(1) तापनि परिपक्‍व भएकाहरूका बीचमा हामी बुद्धिको प्रचार गर्दछौं, तर यस युगको बुद्धि होइन, न त यस युगका शासकहरूको बुद्धि, जो निश्‍चय बितिजानेछ। तर हामी परमेश्‍वरको गुप्‍त र लुकेको बुद्धिको प्रचार गर्दछौं, जो युगयुगअघि हाम्रो महिमाको निम्‍ति परमेश्‍वरले नियुक्त गरिदिनुभयो। यस युगका कुनै पनि शासकहरूले त्‍यो कुरा बुझेनन्‌। तिनीहरूले बुझेका भएदेखि महिमाका प्रभुलाई क्रूसमा टाँग्‍ने नै थिएनन्‌। तर यसो लेखिएको छ, “आँखाले नदेखेका र कानले नसुनेका र मानिसले मनमा नसोचेका, यी नै कुरा परमेश्‍वरले उहाँलाई प्रेम गर्नेहरूका निम्‍ति तयार पार्नुभएको छ।” १ कोरिन्थी २:६-९

(2) येशूले आफ्‍नो सेवाकार्य आरम्‍भ गर्नुहुँदा उहाँ करीब तीस वर्षका हुनुहुन्‍थ्‍यो। लुका ३:२३

(3) परमप्रभुका आत्‍मा ममाथि छ, किनभने गरीबहरूलाई सुसमाचार सुनाउनका निम्‍ति उहाँले मलाई अभिषेक गर्नुभएको छ। कैदीहरूलाई छुटकाराको घोषणा गर्न, र अन्‍धाहरूलाई दृष्‍टि दिन, थिचोमिचोमा परेकाहरूलाई स्‍वतन्‍त्र गराउनका निम्‍ति, र परमप्रभुका प्रसन्‍नताको वर्ष घोषणा गर्नका निम्‍ति उहाँले मलाई पठाउनुभएको छ।” लुका ४:१८-१९

येशूले यशैया ६१:१ बाट भएको भविष्यवाणी आफैमा लागू गर्नुभयो:

तब अन्‍धाहरूका आँखा खोलिनेछन्, र बहिराहरूका कान उघारिनेछन्‌। तब लङ्गड़ाहरू मृगझैँ उफ्रनेछन्, र गूँगाहरूको जिब्रोले स्‍तुति गर्नेछ। उजाड़-स्‍थानमा पानी फुटेर निस्‍कनेछ र मरुभूमिमा खोलाहरू बग्‍नेछन्‌। यशैया 35:5-6

(4) उहाँ केफासकहाँ, अनि बाह्रै जनाकहाँ देखा पर्नुभयो। त्‍यसपछि उहाँ एकै समयमा पाँच सयभन्‍दा बढ़ी भाइहरूकहाँ एकसाथ देखा पर्नुभयो, जसमध्‍ये धेरैजसो अहिलेसम्‍म छँदैछन्‌ तर कोही-कोही सुतिसकेका छन्‌। १ कोरिन्थी १५:१,५-६

(5) भाइ हो, मैले तिमीहरूलाई प्रचार गरेको सुसमाचार म तिमीहरूलाई याद दिलाउन चाहन्‍छु, जुन सुसमाचार तिमीहरूले ग्रहण गर्‍यौ, र जसमा तिमीहरू स्‍थिर रहन्‍छौ। १ कोरिन्थी 15:1 

(6) “स्‍वर्गको राज्‍य समुद्रमा हानेको एउटा जालजस्‍तो पनि हो, जसमा हरकिसिमका माछाहरू पर्दछन्‌। अनि जाल भरिएपछि मानिसहरूले त्‍यसलाई किनारमा तानी निकाले, र बसेर असल जतिलाई भाँड़ाहरूमा जम्‍मा गरे, र खराब जतिलाई बाहिर फाले। युगको अन्‍त्‍यमा यस्‍तै हुनेछ, स्‍वर्गदूतहरूले आएर दुष्‍टहरूलाई धर्मीहरूका बीचबाट छुट्ट्याउनेछन्, र उनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्‌। त्‍यहाँ मानिसहरू रुनेछन्‌ र दाह्रा किट्‌नेछन्‌।” मत्ती 13:47-50

(7) तर परमेश्‍वरले हाम्रा निम्‍ति उहाँको प्रेम यसैमा देखाउनुहुन्‍छ, कि हामी पापी छँदै ख्रीष्‍ट हाम्रा निम्‍ति मर्नुभयो। यसकारण उहाँको रगतद्वारा धर्मी ठहरिएका हुनाले झन्‌ बढ़ी हामी परमेश्‍वरको क्रोधबाट उहाँद्वारा बचाइनेछौं। रोमी ५:८-९