अध्याय ३ ~ जीवनको रचनाकार ?
तपाईंले यस खोजमा मसित सहभागी हुने निर्णय गर्नुभएकोमा म खुसी छु । हामी मिलेर जीवनका अति महत्त्वपूर्ण प्रश्नहरुको जवाफ पत्ता लगाउन प्रयत्न गर्नेछौं । तपाईंले कहिल्यै नसोच्नु भएका हुनसक्ने प्रश्नहरु बारे विचार गर्नेछौं । यदि रचनाकार, जीवनको सृष्टिकर्ता हुनुहुन्छ भने, उहाँ को हुनुहुन्छ त भनेर किन सबैलाई थाहा छैन ?
हामीले हाम्रा सृष्टिकर्तालाई देख्न सकेमा तपाईंलाई धेरै सहज हुन्न त ? हाम्रा धेरैवटा प्रश्नहरुको जवाफ सहज हुनेछ । तर सृष्टिकर्ताले आफूलाई खुल्ला रुपमा प्रकट नगर्नुमा उत्तम उद्देश्य हुनुपर्दछ ।
अझै, प्रकृति र मानव जातिलाई नियाल्दाखेरि सृष्टिकर्ताका विविध विशेषताहरु पत्ता लगाउन सकिन्छ । रचना वा सृष्टिले पनि रचनाकार बारे केही न केही कुरा प्रदर्शन गरिरहेको छ । तपाईंले प्रकृति र ब्रह्माण्डलाई नियाल्नुभएमा रचनाकार बारे तपाईं के पत्ता लगाउन सक्नुहुन्छ होला ? यस अध्यायमा म तपाईंलाई प्रकृतिमा देख्न सकिने सृष्टिकर्ताका विविध विशेषताहरु देखाउन चाहन्छु ।
सिर्जनशील रचनाकार
पृथ्वीको जीवनले रचनाकार अति सिर्जनशील हुनुहुन्छ भन्ने कुरा प्रमाणित गर्दछ । प्रकृतिमा भएका कुराहरु मात्रै नियालौं । हरेक चीजलाई बहुत मिहिन रुपले बनाइएको तपाईं देख्न सक्नुहुन्छ । प्रत्येक वनस्पति, जनावर र मानव अत्यन्तै जटिल भएको हुनाले शताब्दियौंको खोज-अनुसन्धानपछि पनि वैज्ञानिकहरुले पत्ता लगाउनु पर्ने कुरा अझ धेरै बाँकी छ । अनि बाँकी ब्रह्माण्डको बारेमा त झन कति छ, कति ? ब्रह्माण्डमा पत्ता लगाउनु पर्ने अति धेरै असङ्ख्य तारा र ग्रहहरु छन् ।
तपाईंको निम्ति यो कथा लेख्दै गर्दा म बगैंचामा थिएँ र प्रकृतिमा भएको सौन्दर्य र व्यापक विविधताले चकित भएको कुरा तपाईंलाई सम्झना छ ? कुनै पनि दुई प्राणी समान छैनन् र प्रकृतिको हरेक भाग आँखाको निम्ति सुन्दर छ । तर प्रकृति सुन्दर मात्रै होइन, मानव जाति, जीवजन्तु र वनस्पतिहरुको प्रत्येक विशेषताको पनि आ-आफ्नै कार्य हुन्छ । सबै चीज एकसाथ क्रियाशील भइरहेको हुन्छ ।
किरा–फटेङ्ग्राविना फूलले उत्पादन गर्न सक्दैन र फूलविना किरा–फटेङ्ग्रा पनि बाँच्न सक्तैनन् । धेरैजसो फूलहरुमा किरा–फटेङ्ग्रालाई आकर्षण गर्ने सुन्दर रङ्गहरु हुन्छन् । कतिपय फूलहरुको रुपचाहिँ एक फूलबाट अर्को फूलमा पराग लिएर जाने किरा–फटेङ्ग्रालाई आकर्षित गर्ने खालको हुन्छ ।
हामीले खाने धेरै वनस्पतिहरुलाई मौरी र अन्य किराहरुले परागशेचन गर्दछन् । ती मौरीहरुविना हामीले खाना खान पाउँदैनौं । मैले मह मात्रै भनेको होइन । हामीले खाने अधिकांश वनस्पतिहरु मौरीको परागशेचनमा निर्भर हुन्छन् । ती मसिना, भुत्ले किराहरु नभइदिएको भए हाम्रो जीवन एकदमै कठिन हुनेथियो ।
जीवन सम्भव तुल्याउनको निम्ति हरेक चीज कसरी एकसाथ क्रियाशील हुन्छन् भन्ने कुरा दर्शाउने अनगिन्ती उदाहरणहरुमध्ये यो एक उदाहरण मात्रै हो । यसका सृष्टिकर्ता यी सबै थोकलाई अस्तित्वमा ल्याउन सक्षम हुनुहुने अदभूत रुपमा सिर्जनशील र बुद्दिमान हुनुपर्दछ ।
भरोसायोग्य सृष्टिकर्ता
जब हामी हरेक रात ओछ्यानमा जान्छौं, केही घण्टामा फेरि सूर्योदय हुनेछ भन्ने अपेक्षा गर्दछौं । अँध्यारो नै छाइरहने छ भनेर हामी डराउँदैनौं । वर्षैपिच्छे ऋतुहरु आउँछन्, जान्छन् भन्ने कुरा पनि हामी जान्दछौं । शरद ऋतुपछि जाडो आउँछ अनि त्यसपछि वसन्त ऋतु आउनेछ भन्ने कुरा हामी जान्दछौं । हरेक वर्ष छर्ने र फसल भित्र्याउने ऋतु हुन्छ।
दिन र रात अनि गृष्म र शिशिर ऋतुका यी नियमित ढाँचाहरुमा भरोसा राख्दछौं । हामी गरुत्वाकर्षण जस्तो प्रकृतिका नियमहरुमा पनि भरोसा गर्दछौं । यी नियमहरु अपरिवर्तनशील छन् । यदि प्रकृतिका स्थिर नियमहरु नभईदिएको भए विज्ञानको अस्तित्व हुने थिएन ।
प्रकृतिमा सबै थोक कारण र प्रभावका स्थिर ढाँचाहरु अनुसार चल्दछन् । कुनै थोक आकस्मिक हुँदैन । दिन कहिले पनि लामो वा छोटो नभई सधैं २४ घण्टा लामो हुन्छ । तपाईं उफ्रनु हुन्छ भने, गुरुत्वाकर्षणले तपाईंलाई सधैं तलतिर तान्दछ, कदापि मास्तिर तान्दैन ।
यदि प्रकृतिका नियमहरु मनमानी हुन्थे भने, हामी भद्रगोल हुनेथियौं । पृथ्वीमा जीवन असम्भव हुनेथियो भने ब्रह्माण्डको अस्तित्व हुनेथिएन ।
सृष्टिकर्ता क्रमबद्दता र संरचना, कारण र प्रभावको सृष्टिकर्ता हुनुहुन्छ । त्यसैले, सृष्टिकर्ता भरोसायोग्य हुनुहुन्छ भन्दा फरक पर्दैन ।
प्रेम र सम्बन्धको सृष्टिकर्ता
हामी हाम्रा वरिपरि मानिसहरुविना जिउन सक्तैनौं । कुनै पनि कार्य गर्न सक्षम हुनको निम्ति हामीलाई एकअर्काको जरुरत पर्दछ । परिवार र प्रिय जनहरुसितको आत्मीय सम्बन्ध खाने–पिउने थोकको निम्ति एकअर्काको जरुरत पर्नुभन्दा पनि अझ प्रगाढ हुन्छ । मानव–मानव बीचको सम्बन्ध र प्रेमले हाम्रो अस्तित्वको विशेष हिस्सा निर्माण गर्दछ । यी कुराले जीवनलाई अधिक मिठास दिन्छन् । त्यसैले, मानिस-मानिसबीच प्रेम र सम्बन्धको निम्ति सृष्टिकर्ताको उद्देश्य हुनुपर्दछ । यस विषयमा हामी अलिक गहिराइमा जानेछौं ।
सही र गलतको आधार
के तपाईंलाई अझै पनि सृष्टिकर्ता आफ्नो सृष्टिमा संलग्न हुनुहुन्छ भन्ने लाग्छ ? कि ब्रह्माण्ड बनाउनुभयो अनि त्यसपछि हामीलाई त्यतिकै छाडिदिनुभयो भन्ने लाग्छ ? यदि तपाईंले यस संसारको दयनीय अवस्था हेर्नुभयो भने, यो प्रश्न बिलकुलै अजीव प्रश्न होइन ।
मानिलिऔं, यो संसार सृष्टिकर्ताविना नै अस्तित्वमा आयो रे । त्यस अवस्थामा, यस संसारमा दुःख-कष्ट किन छ भन्ने प्रश्नको जवाफ के होला त ? वा के तपाईंलाई दुःख-कष्ट अकारण छ भन्ने लाग्छ ? तर सही वा गलत भन्ने चीजचाहिँ किन छ त ? त्यस्तो कुरा कसले तोक्छ ? यसको निम्ति कहींकतै मापदण्ड छ, विश्वव्यापी मानक छ, नैतिक सत्य छ ।
मानिसलाई “खराबी” देखि किन जोगाउनु पर्दछ ? प्रकृतिका नियमहरुले यो सही हो वा गलत हो भनेर तोक्दैनन् । ती नियमहरु सिर्फ प्रकृतिका नियम बाहेक अरु केही होइनन् । यी नियमहरु हमेशा जसरी चलिरहेका हुन्छन् त्यसरी नै चलिरहन्छन् । तपाईं उफ्रनु हुन्छ भने, गुरुत्त्वाकर्षणले तपाईंलाई फेरि भुइँतिरै तानिझार्छ । गुरुत्त्वाकर्षणको नियममा राम्रो वा नराम्रो भन्ने केही छैन ।
मानिलिऔं, सबै थोक कारण र प्रभाव बाहेक केही होइन रे। त्यसो भए, निर्णय गर्न सम्भव हुन्थ्यो होला त ? यदि हामीले गर्ने हरेक थोक भौतिक र रसायनिक प्रक्रियाहरुको परिणाम हो भन्ने तपाईंले सोच्नुभयो भने, संसारमा दुःख-कष्टको बारेमा चिन्तित हुनुको कारण नै हुने थिएन । हामीले गर्ने कार्यप्रति उत्तरदायी महसुस गर्नु पर्दैनथियो । हाम्रा कार्यहरु त हाम्रो मष्तिस्क र शरीरमा रसायनिक प्रक्रियाहरुको परिणाम मात्रै हुनेथिए । वा परिस्थितिलाई हेर्ने फरक दृष्टिकोण हुन सक्ला कि ?
यदि ‘सही’ वा ‘गलत’ भन्ने कुरा नै अस्तित्वमा हुँदैनथियो भने, हत्या, बलत्कार, व्यभिचार, झूटलाई हामी किन गलत भन्छौं त ? त्यहाँ अकाट्य सत्य छ । यही सत्य सृष्टिमा गहिरो रुपमा स्थापित छ र सृष्टिकर्ता यसको स्रोत हुनुहुन्छ ।
सृष्टिकर्ताले हामीलाई किन सृष्टि गर्नुभयो भन्ने प्रश्नको जवाफ बारे तपाईं जान्न चाहनुहुन्छ ?
.